एमाले संकटमा पर्नुका तीन कारण

किरण पौडेल ३० चैत २०८२ १३:५७ | Monday, April 13, 2026
12
SHARES
एमाले संकटमा पर्नुका तीन कारण

काठमाडौँ- निर्वाचनमा पराजित भएर नेतृत्व संकटमा पर्दा पनि मौन बसेको नेकपा एमालेभित्र अहिले पराजय, पक्राउ र आन्तरिक विद्रोहको त्रिवेणीले गहिरो राजनीतिक संकट सतहमा ल्याएको छ।

निर्वाचनमा अप्रत्याशित हारसँगै नेकपा एमालेले जनमत गुमाएको छ। चुनावी समीक्षा गर्न नसक्नु र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठ्नुले संकट गहिरिएको हो।
पार्टीका शक्तिशाली नेता ओली पक्राउ पर्नुले एमालेमा ठूलो राजनीतिक र मनोवैज्ञानिक धक्का पुगेको छ। त्यसपछि गरिएको आन्दोलनसमेत प्रभावकारी देखिन सकेन।

यसैगरी पार्टीमा वरिष्ठ नेताबीच आरोपप्रत्यारोप बढ्दै गएको छ। विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ लगायत नेताहरूबीच मतभेद चर्किएको छ भने युवा पुस्ताबाट नेतृत्व परिवर्तनको माग उठिरहेको छ।

निर्वाचनको एक महिना बितेर सत्ता राजनीतिमा उथलपुथल आइसक्दा पनि एमालेले औपचारिक रूपमा चुनावी समीक्षा गर्न सकेको छैन। सचिवालय बैठकमा समानुपातिक सांसद र संसदीय दलको नेता चयन गर्ने जस्ता विषयमा मात्रै छलफल भएका छन्।

निर्वाचन समीक्षाका लागि एमालेको एकपटक पनि केन्द्रीय कमिटी बैठक बसेको छैन। सचिवालय बैठकमा पनि चुनावको समीक्षा भएको जानकारी बाहिर आएको छैन।

सत्ता राजनीतिमा देखिएको हलचलका कारण पार्टी अहिले आन्तरिक छलफलमा जुट्न नसकेको नेताहरू बताउँछन्। एमालेले चुनाव मात्रै हारेको छैन, पार्टीका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। चैत १४ मा बालेन शाह प्रधानमन्त्री बनेको १२ घण्टा नपुग्दै एमाले अध्यक्ष पक्राउ परे। उनलाई भदौ २३ को घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा ओली पक्राउ परेका थिए। २३ गते १९ जना युवाको ज्यान जाने गरी भएको घटनामा ओली संलग्न रहेको आरोप छ। घटना हुँदा ओली प्रधानमन्त्री थिए।

अध्यक्ष ओली पक्राउ परेपछि एमाले सडकमा आयो। पार्टीले निर्णय गरेर सडकमा आए पनि यसपटकजस्तो फितलो उपस्थिति एमालेको आन्दोलनमा कमै हुन्थ्यो। असाध्यै न्यून संख्यामा सडकमा कार्यकर्ता देखिएपछि आन्दोलन एकाएक सेलायो।

एमाले नेताहरूका अनुसार सडक आन्दोलनबारे पनि एमालेमा अनेक मत थिए। अहिले पनि एकथरी कार्यकर्ता ओलीको बचाउमा छन् भने अर्कातिर ओलीले नेतृत्व छाड्नुपर्ने अभियानमा जुटेका छन्। ‘पार्टीमा तीव्र असन्तुष्टि छ। सडकमा गएको विषयमा पनि विवाद छ’, एक नेता भन्छन्।

एमालेका लागि फागुन २१ को निर्वाचन अकल्पनीय थियो। एमाले ‘मिसन ०८४’ को गृहकार्यमा थियो। यस बीचमा एमालेले संसद् पुनःर्स्थापनाका लागि अदालत गुहार्‍यो। सुशीला कार्की नेतृत्वको सरकार चुनाव गराउने पक्षमा थियो। लोकतान्त्रिक विधि मान्नैपर्ने बाध्यताका कारण एमाले चुनावी प्रक्रियामा सामेल भयो।

यद्यपि चुनावमा एमालेसँग जनताले पत्याउने कुनै मुद्दा थिएन। पार्टीमा ओलीको एकछत्र राजले कार्यकर्ता नै विभाजित मनस्थितिमा थिए। भदौ २३ र २४ को घटनाबारे ओलीले कुनै सहानुभूतिसम्म व्यक्त गर्न चाहेका थिएनन्। सोही कारण अध्यक्षसहित सबै पदाधिकारीले चुनाव हारे। ‘चुनाव हार्नु ठूलो कुरा थिएन। तर हामीलाई जुन शक्तिले घुँडा टेकायो। त्यही शक्ति हाबी भयो’, एमालेका एक नेता भन्छन्। ओलीले भदौ २४ गते संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबारजस्ता संरचनामा बालेन शाहले आगो लगाएको आरोप लगाएको थियो। त्यसलाई चुनावी मुद्दा बनाएको एमालेलाई जनमत प्राप्त हुन सकेन। ‘लोकतान्त्रिक प्रक्रिया पालना गर्नकै लागि भए पनि एमाले चुनावमा गएको हो। नतिजा यस्तै आउँछ भन्ने थाहा थियो’, एमाले नेता सूर्य थापा दाबी गर्छन्।

चुनावी नतिजा र अध्यक्ष ओली पक्राउले आहत बनेको संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसदीयमा दिएको अभिव्यक्तिले एमालेभित्र अर्को भूकम्प ल्याइदियो। बादलले बालेन नेतृत्वको सरकार पश्चिमा शक्तिहरूले निर्माण गरेको आरोप लगाए। ‘भदौ २३ र २४ को घटनामा टीओबीहरू किन देखा परे? फ्रि तिब्बतको नारा किन लगाए? दलाई लामाको सरकारले किन बारबरा सरकारलाई शुभकामना दियो?,’ उनले संसद्मा भने, ‘यहाँ कतिपय डिपस्टेट पश्चिमी शक्तिहरूको रुचि थियो, उनीहरू नेपालमा सैनिक अड्डा बनाउन चाहन्छन्।’

एमाले उपाध्यक्ष विष्णु पौडेलसहितले बादलले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर रहेर अभिव्यक्ति दिएको आरोप लगाए। पौडेलको अभिव्यक्तिपछि एमाले दुईधारमा विभाजित भएको संकेत देखियो। यसअघि लामो समय ओली खेमामा रहेका पौडेल बादलविरुद्ध खनिए।

ओली पक्राउपछि एमालेमा नेतानेताबीच कटाक्ष सुरु भयो। बादल र पौडेलपछि योगेश भट्टराई पनि असन्तुष्ट देखिए। संसदीय दलको नेता सर्वसम्म चयन हुन सकेन। पार्टीले बादललाई अघि सारे पनि युवा पुस्ताबाट सुहाङ नेम्वाङले दलको नेता बन्ने आकांक्षा राखेका थिए। तर सुहाङले समर्थक-प्रस्तावक पाएनन्।

केही दिनअघि बादलले दिएको अर्को चुनौतीपूर्ण अभिव्यक्तिले त एमालेभित्र फेरि तनाव बढायो। उनले आफूले गरेको भाषणको विरोध गर्नेहरू ‘पार्टीको दुश्मन’ भएको बताएका थिए। यसले गर्दा बादल–विष्णुबीच तीव्र असन्तुष्टि व्यक्त भयो।

केही युवा विशेष महाधिवेशन भन्दै हस्ताक्षर संकलन गरिरहेका छन्। एमालेमा ओलीसँग रहेको एउटा पक्ष असन्तुष्टिमा परेको बुझाइ छ। विष्णु पौडेल खेमा अहिले सक्रिय रूपमा ओलीविरुद्ध लागेको बुझाइ छ। ‘पौडेल पक्षका गतिविधि अब पुस्तान्तरणमा जानुपर्छ भन्ने जस्तो देखिन्छ’, राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘एमालेका तल्ला पुस्ता अब रूपान्तरण चाहेको जस्तो देखिन्छ।’ एमालेमा युवामा नेतृत्व हस्तातरणको कुरा उठेको छ। तर ओलीको विकल्पमा अघि सार्ने नेता देखिएका छैनन्।

‘आआफ्नै लडाइँ जस्तो देखिएको छ। नेताहरू खबरदारी गरिरहेका छन् तर एकजुट बनेका छैनन्’, एक नेता भन्छन्। एमालेमा जो पुस्तान्तरणका पक्षमा छन्, उनीहरू पनि एक देखिँदैनन्। ११ औँ महाधिवेशनबाटै एकपक्ष ओलीविरुद्धमा छ। ईश्वर पोखरेल ओलीविरुद्ध अध्यक्षमा निर्वाचित भएका थिए। अहिले पोखरेल मौन छन्। पौडेल पक्ष आक्रोशित छ।

‘विष्णु कमरेडको अभिव्यक्ति देख्दा उहाँ असन्तुष्ट भएजस्तो देखिन्छ। तर कोसँग हो प्रस्ट छैन,’ एक नेता भन्छन्। एमालेमा लामो समयदेखि महासचिव शंकर पोखरेल र पौडेलबीच अन्तर्संघर्ष चलिरहेको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाही ओली डिस्चार्ज भएपछि सबै समाधान हुने विश्वास व्यक्त गर्छन्। ‘अध्यक्षज्यू बिरामी हुनुहुन्छ, उहाँ निको भएपछि चुनावी समीक्षासमेत हुन्छ’, उनी भन्छन्।

प्रकाशित: ३० चैत २०८२ १३:५७ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast