माैसम अवस्था। फाइल तस्बिर।
काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली र वर्षा भइरहेको छ। गएको २४ घण्टामा सातै प्रदेशका विभिन्न स्थानमा वर्षा रेकर्ड गरिएको छ।
विशेषगरी पूर्वी क्षेत्रका जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भएको छ। संखुवासभाको टासी गाउँमा ५३.२ मिलिमिटर वर्षा मापन भएको छ भने मोरङको हरैँचामा ४९.८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी झापाको कनकाईमा ४५ मिलिमिटर र अनारमनी बिर्तामा ४४.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ।
दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
राति भने कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ।




