‘विश्वलाई भगवान शिव जस्तै विषपान गर्न सक्ने करुणा राष्ट्रको आवश्यकता छ’

हिन्द महासागर सम्मेलनमा नेपालः मध्यपूर्व संकटदेखि जलवायु कूटनीतिसम्म

हिमाल प्रेस २८ चैत २०८२ १९:३० | Saturday, April 11, 2026
12
SHARES
‘विश्वलाई भगवान शिव जस्तै विषपान गर्न सक्ने करुणा राष्ट्रको आवश्यकता छ’ परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ- हिन्द महासागर क्षेत्रको बदलिँदो भू–राजनीतिक सन्तुलन, मध्यपूर्वमा चर्किएको द्वन्द्व र जलवायु परिवर्तनका चुनौतीबीच नेपालले बहुपक्षीय मञ्चमा आफ्नो स्पष्ट कूटनीतिक धारणा प्रस्तुत गरेको छ। मरिशसमा आयोजित नवौँ  हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल ले ‘हिमाल र समुद्रको भाग्य अविभाज्य रूपमा जोडिएको’ भन्दै सामूहिक जिम्मेवारीमा आधारित विश्व व्यवस्थाको आवश्यकता औँल्याएका हुन्।

उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट शुभकामना व्यक्त गर्दै हिन्द महासागर समुदायको विविधता र गतिशीलताको प्रशंसा गरे। नेपालका लागि सामूहिक जिम्मेवारीको अवधारणा हिमाल र समुद्रबीचको अन्तरसम्बन्धको सरल यथार्थबाट सुरु हुने उनको भनाइ थियो।

खनालले विशेष रूपमा मध्यपूर्वमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नेपालका लागि ‘टाढाको घटना होइन’ भने। उक्त क्षेत्रमा लाखौँ नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उनले उनीहरूको सुरक्षालाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताए। द्वन्द्वका कारण एक नेपालीको ज्यान गएको र अन्य घाइते भएको उल्लेख गर्दै उनले यसको प्रभाव इन्धन मूल्यवृद्धि, आपूर्ति प्रणालीमा अवरोध र देशभित्रको जनजीवनसम्म पुगेको बताए।

‘हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग प्रत्यक्ष रूपमा जोडिएको छ,’ उनले भने, ‘यी संकटहरूले हामी सबैलाई अन्तरनिर्भर विश्वमा बाँधिएको यथार्थ सम्झाउँछन्।’ यस वर्षको सम्मेलनको विषय ‘इन्डियन ओसन गभर्नेन्सका लागि सामूहिक जिम्मेवारी’ समयानुकूल रहेको उल्लेख गर्दै खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा जोखिम, आपूर्ति प्रणालीमा अवरोध र बढ्दो असमानताजस्ता चुनौतीहरू समाधान गर्न सहकार्यभन्दा पनि वास्तविक ‘सामूहिक जिम्मेवारी’ आवश्यक रहेको धारणा राखे।

उनका अनुसार यस्तो जिम्मेवारी साँघुरो राष्ट्रिय स्वार्थभन्दा माथि उठेर साझा वैश्विक हितका लागि अघि बढ्नुपर्ने अवधारणासँग जोडिएको छ। उनले समावेशी, पारदर्शी र नियममा आधारित बहुपक्षीय संयन्त्रको आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय कानुन, सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिनुपर्ने बताए।

नेपालको विदेश नीति राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्न आन्दोलनमा आधारित रहेको उल्लेख गर्दै उनले साना–ठूला सबै राष्ट्रको अधिकार समान रूपमा सम्मान हुने विश्व व्यवस्थाको पक्षमा नेपाल उभिएको दोहोर्‍याए।

भूपरिवेष्टित मुलुक भए पनि हिन्द महासागरसँग नेपालको सम्बन्ध ऐतिहासिक, प्राकृतिक र अविभाज्य रहेको उनले बताए। प्राचीनकालदेखि नै व्यापार, तीर्थयात्रा र ज्ञान आदान–प्रदानका मार्गहरूले हिमालयदेखि समुद्रसम्मको सम्बन्ध कायम राखेको स्मरण गर्दै उनले ती मार्गहरू केवल आर्थिक नभई ‘सभ्यतागत सेतु’का रूपमा पनि काम गरेको उल्लेख गरे।

यही सन्दर्भमा उनले गौतम बुद्ध को ‘प्रतित्यसमुत्पाद’ सिद्धान्त उल्लेख गर्दै कुनै पनि वस्तु वा घटना अलग अस्तित्वमा नरहने दर्शन आजको विज्ञान र भूराजनीतिसँग मेल खाने बताए। ‘हिमालय र हिन्द महासागर अपरिचित होइनन्, तिनीहरू पर्यावरण, जल प्रणाली र भाग्यद्वारा जोडिएका छन्,’ उनले भने।

हिन्दुकुश–हिमालय क्षेत्रबाट सुरु हुने नदी प्रणाली अन्ततः हिन्द महासागरमा मिसिने उल्लेख गर्दै उनले हिमाल र समुद्रको स्वास्थ्य परस्पर निर्भर रहेको स्पष्ट पारे। जलवायु परिवर्तनका कारण नेपालका हिमनदी तीव्र गतिमा पग्लिँदै गएको, हिमताल विस्फोटको जोखिम बढेको र अर्कोतर्फ हिन्द महासागरको तापक्रम तीव्र रूपमा वृद्धि भइरहेको अवस्थाले साझा संकट निम्त्याएको उनले औँल्याए।

‘हिमालमा हिउँ पग्लिन्छ, त्यसले अन्ततः समुद्रको सतह बढाउँछ,’ उनले भने। नेपालले यस अन्तरसम्बन्धलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर उठाउँदै आएको उल्लेख गर्दै उनले ‘सगरमाथा संवाद’लाई जलवायु परिवर्तन र हिमाल–समुद्र सम्बन्धमा केन्द्रित वैश्विक पहलका रूपमा प्रस्तुत गरे।

समुद्री सुरक्षाका सन्दर्भमा उनले समुद्री आतंकवाद, डकैती र अवैध तस्करीजस्ता चुनौतीप्रति चिन्ता व्यक्त गर्दै हिन्द महासागर क्षेत्रको स्थिरता विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अपरिहार्य भएको बताए।

राष्ट्रसंघीय समुद्र सम्बन्धी कानुन (यूएनसीएलओएस) को पक्षकार राष्ट्रका रूपमा नेपालले समुद्रसम्मको पहुँच र समुद्री अर्थतन्त्रमा सहभागितालाई अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरेको अधिकारका रूपमा व्याख्या गरेको उनले बताए।

सम्बोधनको अन्त्यमा उनले हिन्दु धर्मग्रन्थको ‘समुद्र मन्थन’ प्रसङ्ग उल्लेख गर्दै भगवान् शिवले विषपान गरेर संसार जोगाएको कथा सुनाए। आजको विश्वमा पनि शक्तिशाली राष्ट्रहरूले करुणा, सहानुभूति र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने सन्देश उनले त्यसमार्फत दिएका थिए। शिव भगवानले विषपान गरे जस्तै ठूला र सम्पन्न राष्ट्रले पनि त्यो नीति लिनुपर्ने उनको सुझाव रहेको थियो।

‘आजको विश्वलाई शिवजस्तै करुणा आवश्यक छ,’ उनले भने, ‘यो करुणा मानवमात्र होइन, समुद्रका जीवदेखि हिमालका पारिस्थितिकी तन्त्रसम्म फैलिनुपर्छ।’ सम्मेलनको साइडलाइनमा खनालले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। नेपाल–भारत सम्बन्धको बहुआयामिक पक्षहरूको समीक्षा गर्दै सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।

यता, दुई साताअघि मात्रै प्रधानमन्त्री बनेका वालेन्द्र शाहले विदेश नीतिबारे औपचारिक धारणा सार्वजनिक नगरे पनि कूटनीतिक सक्रियता बढाउन थालेका छन्। काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँगको सामूहिक भेटलाई त्यसको संकेतका रूपमा हेरिएको छ।

मरिशस सम्मेलनमा खनालको सम्बोधनले नेपालले परम्परागत असंलग्न नीति कायम राख्दै बदलिँदो विश्व सन्दर्भमा जलवायु कूटनीति, आपूर्ति सुरक्षा र बहुपक्षीय सहकार्यलाई केन्द्रमा राखेर सक्रिय भूमिका खोजिरहेको स्पष्ट सन्देश दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast