Screenshot
काठमाडौँ- फिल्म ‘मालती मंगले’ को दोस्रो गीत ‘ढुंगा माथि लेऊ’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउत रोमान्टिक अवतारमा छन्।
विजय र वर्षालाई बलिउडका चर्चित कलाकार शाहरुख र काजोलले एक फिल्ममा गरेकाे भेषलाई प्रस्तुत गरेकाे निर्माण टिमले जनाएकाे छ।
टिमका अनुसार उनीहरू फिल्म ‘मोहब्बते’मा शाहरुख खान र काजोलको भेषमा देखिएका हुन्। फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालले कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा पनि त्यसैको झल्को दिने रचनात्मक प्रयास गरिएको बताए।
गीतमा गायक ढकाल र गायिका ऋतिका श्रेष्ठको स्वर छ। हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमाको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्।
यसअघि फिल्मको ‘सुनैको सपनी’ बोलको गीत सार्वजनिक गरिएको थियो। फिल्म आगामी वैशाख २५ देखि देशभर प्रदर्शन हुनेछ।
फिल्मको नाम सुन्दा धेरैलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकको झल्को आए तापनि निर्माता ढकालले यो पूर्णतः हाम्रै समाजको परिवेशमा आधारित एक फरक सांगीतिक प्रेमकथा भएको बताएका छन्।
फिल्मका निर्देशक प्रकु पाण्डेय हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा अन्य कलाकार मेक्सम गौडेल प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेतीलगायत कलाकारको अभिनय छ।




