काठमाडौँ- नेपाली कांग्रेसले औपचारिक रुपमा पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा पूर्वनिर्धारित तालिका अनुसार १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै औपचारिक रुपमा महाधिवेशनको प्रक्रिया सुरु भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले चैत्र २१ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका पारित गरेको थियो।
महाधिवेशनको तयारीसँगै सांगठनिक विषय, नागरिकसँग निर्वाचनको समीक्षा र सामाजिक गतिविधिहरुलाई समेत एकैसाथ जोडेर अघि बढाउनका लागि प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको महामन्त्री पौडेलले बताए।
७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरुले आगामी वैशाख महिनाभरी सम्बन्धीत जिल्लामा पार्टीको सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यतालाई अद्यावधिक गर्ने उनले जानकारी दिए।
उनले वैशाख महिनाभित्र सदस्यता अद्यावधिक गर्दा कांग्रेस आईडी प्राप्त हुने स्थिति बनाएको र आईडी प्राप्त नभएका व्यक्ति आगामी महाधिवेशनमा सहभागी हुन नसक्ने बताए।




