कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० झलारीका रामसिंह डगौरा व्यावसायिक तरकारीखेतीमार्फत परिवारको आर्थिक आधार मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गरेका छन्।
उनले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि निरन्तर तरकारीखेती गर्दै आएका हुन्।
जग्गा भाडाबापत विद्यालयलाई वार्षिक रु ५५ हजार बुझाउँदै आएका डगौराले बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेका छन्।
उनका अनुसार तरकारीखेतीबाट मासिक रु ५० देखि ७० हजारसम्म आम्दानी हुने गरेको छ भने वार्षिक आम्दानी रु १० लाखभन्दा बढी पुग्ने गरेको छ।
बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडालगायत तरकारी उत्पादन गरिन्छ।
तरकारीखेतीको आम्दानीले तीन जना छोराछोरीको उच्च शिक्षाको खर्च, बिरामी श्रीमतीको उपचार, बैंक ऋणको किस्ता तथा घरखर्च धान्दै आएका छन्।
‘आम्दानीको आधाभन्दा बढी रकम छोराछोरीको पढाइमा खर्च हुन्छ’, उनी भन्छन्।




