शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल।
काठमाडौँ- माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले शिक्षा क्षेत्रमा वर्षौंदेखि थाँती रहेका समस्याहरू तत्काल समाधान गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई पत्र पठाएका छन्। समस्या समाधान नगरे आन्दोलनको चेतावनी पनि दिएका छन्।
युनियनले देशभरका करिब ३० हजार शिक्षकको प्रतिनिधित्व गर्दै साविक उच्च माध्यमिक तह (कक्षा ११-१२) मा दुई दशकभन्दा बढी समयदेखि कार्यरत शिक्षक अझै पनि स्थायित्वबाट वञ्चित रहेको गम्भीर विषय उठाएको छ। मास्टर्सदेखि पीएचडीसम्मको योग्यता भएका शिक्षकले समेत अस्थायी हैसियतमा काम गर्नुपरेको भन्दै तत्काल स्थायित्वको सुनिश्चितता गर्न माग गरिएको छ।
पत्रमा दीर्घकालीन सेवा गरेका शिक्षकका लागि सम्मानजनक अवकाश प्याकेजको व्यवस्था गर्नुपर्ने, सेवा अवधिको गणना सुरु नियुक्तिबाटै हुनुपर्ने जस्ता मागहरू उल्लेख छन्।
कक्षा ११-१२ को संरचना पुनःपरिभाषित गर्दै विश्वविद्यालयको प्रमाणपत्र तहसरह बनाउने वा माध्यमिक तहलाई दुई भागमा विभाजन गर्ने प्रस्ताव पनि अघि सारिएको छ। यसमा कक्षा ९-१० लाई जुनियर र ११-१२ लाई सिनियर मावि बनाउने सुझाव दिइएको छ।
युनियनले अस्थायी, राहत तथा करार शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, दुर्गम भत्ता, उपचार सुविधा र विदासम्बन्धी व्यवस्थाहरू तुरुन्त लागू गर्नुपर्ने माग पनि गरेको छ।
शिक्षकलाई बारम्बार करार सम्झौतामा बाँध्ने प्रवृत्तिको अन्त्य, अध्यापन अनुमतिपत्रसम्बन्धी समस्या समाधान, सरुवा प्रणाली लागू गर्ने तथा विद्यालयभित्रको मर्यादाक्रम स्पष्ट गर्नुपर्ने विषयमा समेत जोड दिइएको छ।
संविधानले नि:शुल्क शिक्षा सुनिश्चित गरे पनि व्यवहारमा कक्षा ११-१२ मा शुल्क असुली भइरहेको भन्दै तत्काल रोक लगाउनुपर्ने माग गरिएको छ। विद्यालयमा दरबन्दी थप, बालविकास शिक्षक तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने विषय पनि उठाइएको छ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षकको पेसागत सुरक्षाका लागि अनिवार्य नियुक्तिपत्र, श्रम सम्झौता तथा सरकारी निगरानी कडाइका साथ लागू गर्नुपर्ने माग पनि पत्रमा समेटिएको छ।
नेपाल शिक्षक महासंघको वर्तमान गठन प्रक्रिया परिवर्तन गरी स्वतन्त्र मतदानबाट नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने माग समेत अघि सारिएको छ।






