डीपी अर्यालको समर्थनमा स्वर्णिम वाग्लेले सम्झिए कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङ

हिमाल प्रेस २२ चैत २०८२ १२:१३ | Sunday, April 5, 2026
60
SHARES
डीपी अर्यालको समर्थनमा स्वर्णिम वाग्लेले सम्झिए कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले अर्याललाई सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको हो। नवनिर्वाचित सभामुख अर्यालको शपथ ग्रहण आजै हुने संघीय संसद् सचिवालयले जनाएको छ।

सभामुख पदका लागि निर्धारित समयभित्र अर्यालका पक्षमा मात्र प्रस्ताव दर्ता भएपछि निर्वाचन प्रक्रिया निर्विरोध बनेको हो। अर्याललाई सभामुखमा रास्वपा सभापति एवं सांसद रवि लामिछानेले प्रस्ताव गरेका थिए भने कानुनमन्त्री सोविता गौतम र अर्थमन्त्री स्वर्णिम  वाग्लेले समर्थन जनाए।

बैठकमा सभाध्यक्ष अर्जुननरसिंह केसीले उक्त प्रस्तावमाथि छलफलपछि नियमावलीअनुसार अर्याल निर्वाचित भएको घोषणा गरेका थिए।

अर्यालको समर्थनमा बोल्दै वाग्लेले नेपालको संसदीय इतिहासका महत्त्वपूर्ण अभ्यास स्मरण गर्दै नयाँ सभामुखप्रति उच्च अपेक्षा व्यक्त गरे। उनले संसदीय मूल्य र मान्यताको चर्चा गर्दै भने, ‘२०१५ सालको ऐतिहासिक निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले ‘सरकार सत्ता पक्षको हुन्छ, संसद् विपक्षको हुन्छ’ भन्ने महत्त्वपूर्ण मानक स्थापित गर्नुभएको थियो। त्यो मानक आज पनि उत्तिकै सान्दर्भिक छ।’

वाग्लेले बहुदलीय व्यवस्था पुनर्स्थापनापछि संसदीय अभ्यासलाई नयाँ ढंगले स्थापित गर्ने क्रममा दमननाथ ढुंगानाको भूमिका उल्लेखनीय रहेको बताए। ‘उहाँले संसदीय मर्यादा, पद्धति र गरिमालाई पुनर्स्थापित गर्दै संसदलाई जीवन्त बनाउने काम गर्नुभयो,’ उनले भने, ‘कहिलेकाहीँ निरस हुने गतिविधिलाई पनि उहाँले उच्च हास्य चेतमार्फत आकर्षक बनाउनुभएका उदाहरणहरू छन्।’

त्यसैगरी उनले पूर्वसभामुख सुवास नेम्वाङको योगदान स्मरण गर्दै संविधान निर्माण र संसदीय संस्थागत विकासमा उनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। ‘संसदीय अभ्यासलाई संस्थागत गर्न उहाँहरूको योगदान अनुकरणीय छ,’ वाग्लेले भने।

नवनिर्वाचित सभामुख अर्यालको अनुभव र व्यक्तित्वबारे चर्चा गर्दै वाग्लेले उनलाई समन्वयकारी, शालीन र अनुभवी नेताका रूपमा चित्रण गरे। ‘उहाँले विधायक र मन्त्री दुवै भूमिकामा काम गरिसक्नुभएको छ, त्यसैले कार्यपालिका र व्यवस्थापिकाबीच सन्तुलन कायम गर्न सक्षम हुनुहुनेछ,’ उनले विश्वास व्यक्त गरे।

सभामुखमा निर्वाचित भएपछि डोलप्रसाद अर्याल। तस्बिर : संसद् सचिवालय

वाग्लेले सभामुखको भूमिकामा सबैभन्दा महत्त्वपूर्ण गुण तटस्थता भएको उल्लेख गर्दै अर्यालले त्यसमा खरो उत्रिने विश्वास व्यक्त गरे। ‘सभामुखले दलीय आबद्धताभन्दा माथि उठेर काम गर्नुपर्छ, त्यो भावना उहाँमा देखिएको छ,’ उनले भने।

वाग्लेले संसद्को भूमिकाबारे पनि धारणा राख्दै यसलाई केवल बहसको थलो नभई परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। ‘लोकतन्त्र केवल भाषण र बहसले मात्र होइन, त्यसबाट आउने परिणामले अर्थपूर्ण हुन्छ,’ उनले भने, ‘यस पटकको संसदले जनताको अपेक्षा अनुसार परिणाम दिन सक्नुपर्छ।’

त्यस्तै, उनले नयाँ पुस्ताको उल्लेखनीय उपस्थितिले संसदमा नयाँ ऊर्जा थपिएको बताउँदै अनुभवी र नयाँ सांसदबीचको सहकार्यबाट प्रभावकारी काम हुने विश्वास व्यक्त गरे। ‘यो संसद परिवर्तनको आकांक्षा बोकेर आएको छ, अब यसलाई परिणाममा रूपान्तरण गर्नु हाम्रो दायित्व हो,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast