काठमाडौँ- नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’ को पहिचान बनाएका सुशील पोखरेल लामो समयपछि फिल्ममा कमब्याक गरेका छन्। फिल्म ‘परालको आगो’ बाट निर्माताको रुपमा उनले करिब ७ वर्षपछि कमब्याक गरेका हुन्।
यसअघि उनले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायत फिल्ममा लगानी गरिसेका छन्। विशेषगरी उनको सफलताको प्रमाण ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले दिन्छन्।
‘यात्रा’पछि उनी ‘परालको आगो’ मा जोडिएका हुन्। कमब्याकमा उनले दुई पुस्तासँग काम गरिसकेका छन्। पहिले अभिनेत्री झरना थापासँग काम गरेका थिए भने अहिले उनकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा सहकार्य गर्दै छन्। उनलाई पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म जोड्ने सेतुका रूपमा पनि चिनिन्छ।
लामो समय पर्दाबाट टाढा रहेका सुशीलको कमब्याक अनुभव, विश्वास र सिनेमाप्रतिको समर्पणको रुपमा हेरिएको छ। यसले के ‘परालको आगो’ फेरि एकपटक इतिहास लेख्छ त? भन्ने प्रश्न उब्जिएको छ।
‘परालको आगो’मा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत मुख्य भूमिकामा छन्। सामाजिक यथार्थ, गहिरो भावना र शक्तिशाली कथा बोकेको यो फिल्म वैशाख ११ मा प्रदर्शन हुँदैछ। फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।




