सुर्खेत : २७ दिनपछि उठाइयो इनिसाको शव

रमा केसी १९ चैत २०८२ १७:१४ | Thursday, April 2, 2026
18
SHARES
सुर्खेत : २७ दिनपछि उठाइयो इनिसाको शव

सुर्खेत- सुर्खेतकी इनिशा विकको शव २७ दिनपछि उठाइएको छ। गत २३ फागुनमा मृत भेटिएकी इनिसाको मुद्दामा सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न भनिएका चार जनालाई बालसुधार गृह पठाउन आदेश दिएपछि आफन्तले शव उठाएका हुन्।

आइतबार र सोमबारसम्म दुवै पक्षको बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनामा संलग्न भएको अभियोग लागेका चारै जनालाई मंगलबार राति बाल सुधार गृहमा पठाउन आदेश दिएको हो।

संलग्न चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको छ। जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म बाल सुधार गृहमा राखेर मुद्दा अघि बढाउने आदेश भएको बताए।

बहसमा सरकारवादी मुद्दा भएकाले जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ताहरू आरती चपाईं र पुष्पा चालिसे, जाहेरीकर्ता इनिशाका आफन्तका तर्फबाट अधिवक्ताहरू गोविन्दराम परियार, राजेन्द्र भारती, मंगलसेन सार्की, भूमिप्रसाद सापकोटा, ईश्वरभक्त सुनार र कानुन व्यवसायी यमकुमारी ददेलले बहस गरेका थिए ।

उता प्रतिवादीका तर्फबाट अधिवक्ताहरू शंकर पौडेल, अनिलबहादुर शाही, उत्तमप्रसाद आचार्य, विवशकुमार बस्नेत, खगेन्द्रबहादुर खनाल र नारायणनाथ योगीले बहस गरेका थिए । साथै घटनामा संलग्नमध्ये एक जना किशोरले एसईई दिने भएकाले त्यसको व्यवस्था मिलाउन, मृतकमा आमाबुवा तथा घरपरिवारका सदस्यलाई मुद्दा अन्तिम नभएसम्म आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन र मुद्दाबाट पीडित हुन पुगेका व्यक्ति र सरकारी साक्षीको सुरक्षामा कसैले खलल पुर्‍याउने प्रयास गरे त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि अदालतले आदेश गरेको छ।

गत फागुन २३ गते ट्युसन जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर नगरपालिका-१ मा बस्ने १६ वर्षीय इनिशा विक वीरेन्द्रनगर नगरपालिका-४ को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। ती किशोरको बयानपछि थप तीन किशोरलाई पक्राउ गरी सुर्खेत प्रहरीले थप अनुसन्धान गरेको थियो।

पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तस्रावका कारण बेहोस भएको बयान दिएका थिए । उक्त घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै गत आइतबार चारै जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।

प्रकाशित: १९ चैत २०८२ १७:१४ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast