काठमाडौँ-सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध अब म्याद थप नगर्न परमादेश जारी गरेको छ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
सर्वोच्च अदालतले दुवै जनाको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ। गैरकानुनी पक्राउ गरेको भन्दै ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधा लेखकले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
सर्वोच्चले परमादेश जारी गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक लिएको म्याद अब फेरि नथप्न भनेको हो। काठमाडौँ जिल्ला अदालतले ओली र लेखकमाथि अनुसन्धान गर्न आइतबार (चैत २२ गते) पाँच दिन म्याद थप गरेको थियो।
‘चैत २१ गतेदेखि लागूहुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट भएको आदेशअनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात तेस्रोपटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई…प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोग नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीले तत्काली प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई चैत १४ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा प्रहरीले पहिलोटक चैत १५ गते पाँच दिनका लागि म्याद थपेको थियो। त्यसपछि चैत १९ गते जिल्ला अदालतबाटै दुई दिनको म्याद थप भएको थियो। चैत २२ गते फेरि उनीहरूलाई अदालतमा म्याद थपका लागि प्रस्तुत गरिएको थियो। तेस्रोपटक जिल्ला अदालतले पाँच दिनका लागि म्याद थप गरेको हो। चैत २१ गतेदेखि लागू हुने म्याद २५ गते सकिनेछ।








