काठमाडौँ- उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्।
यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तर्क्रियामा उनले पटकपटक नियम तोड्ने र जरिवाना तिर्नसमेत नआउने चालकहरूलाई अब कडाइका साथ कारबाही गरिने बताए।
एसएसपी अधिकारीका अनुसार ट्राफिक प्रहरीको मुख्य लक्ष्य नै व्यवहारमा सुधार ल्याउनु हो। प्रहरी पनि समाजकै अंग भएको स्वीकार गर्दै उनले भएका कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजस्व खातामा गएको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भएकाले यसबारे स्पष्ट हुन उनले आग्रह गरे।
उनले सार्वजनिक यातायात क्षेत्रमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण ९० प्रतिशत इमानदार मजदुरहरू बद्नाम भइरहेको उल्लेख गरे। यदि कुनै ट्राफिक प्रहरीले अपारदर्शी ढंगले काम गरे वा दुर्व्यवहार गरेमा सिधै जानकारी दिन आग्रह गर्दै उनले तुरुन्त कारबाही गर्ने बताए।
चालक र सहचालकको प्रस्तुतिमा पनि सुधार आवश्यक रहेको उनले औंल्याए। शरीरभरि मुन्द्रा लगाउने, असामान्य कपाल राख्ने तथा अभद्र पोसाक लगाउने कारण यात्रुहरू असहज महसुस गर्ने अवस्था रहेको भन्दै उनले भने, ‘आफ्नो हुलिया र गेटअप परिवर्तन गर्नुस्, आवश्यक परे हामी तालिम दिन तयार छौं।’
यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’ (दिनको निश्चित रकम बुझाउने व्यवस्था) का कारण चालकहरू तीव्र गतिमा गाडी चलाउने र यात्रु तान्ने प्रतिस्पर्धा बढेको उनको भनाइ छ। यसको विकल्पका रूपमा इ–टिकटिङ तथा अनलाइन प्रणाली लागू गर्न उनले व्यवसायीहरूलाई सुझाव दिए।
बिहानै स्कुल बस तथा सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ (मापसे) र लागुऔषध (लापसे) सेवन गरेर सवारी चलाएको भेटिएको उल्लेख गर्दै उनले यस विषयमा ट्राफिक प्रहरीले कडा कदम चाल्ने चेतावनी दिएका छन्।




