काठमाडौँ- शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। आजै बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।
शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए। अग्रवाललाई बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी भट्टसँग जोडिएको मुद्दामा छानविन गर्न पक्राउ गरिएको बुझिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ।
बालेन सरकार बनेको एक सातामा भट्टपछि पक्राउ परेका अग्रवाल दोस्रो व्यवसायी हुन्।
यसअघि कार्की आयोगको प्रतिवेदनले दिएको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
त्यस्तै पक्राउ परेका अर्का नेता पूर्वउर्जामन्त्री दीपक खड्कामाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।




