काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदमा दुई जनाको उम्मेदवारी परेको छ।
बिहीबार उपसभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको उम्मेदवारी दर्ता भएको हो।
राप्रपाकी लामाको प्रस्तावकमा ज्ञान बहादुर शाही छन् भने समर्थकमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरी रहेका छन्। आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएपछि राप्रपा संसदीय दलका नेता शाहीले सबै दलसँग कुरा गरेर नै दलका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराएको बताए।
रास्वपा सभापति रवि लामिछानले आफुलाई सहयोग गर्ने भनेपछि अघि बढेको भन्दै निर्वाचनको दिन परिणाम देखिने उनको भनाइ छ।
यता रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा आरेन राई र समर्थकमा अशोककुमार चौधरी र अम्बिका देवी संग्रौला रहेका छन्।
रुबी कुमारीले उम्मेदवारी दर्ता गर्दा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी समेत संसद सचिवालय पुगेका थिए। उपसभामुखमा उम्मेदवारी दिएपछि रुबी कुमारीले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भूमिका अनुसारको जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताइन्।
रास्वपाले समर्थन जनाएसँगै उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने निश्चित भएको छ। रुबी कुमारीलाई कांग्रेस लगायतका प्रतिपक्षीको समेत समर्थन हुने बताइएको छ। उपसभामुख पदका लागि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुँदैछ।




