काठमाडौँ- राप्रपा नेता उद्धवराज भेटवालले राप्रपाले कुनै पनि हालतमा उपसभामुख पद लिन नहुने बताएका छन्। उनले सामाजिक सन्जालमार्फत आज व्यवस्थापक्षीय शक्तिहरूले पनि राप्रपालाई कमजोर बनाउन, यसको नैतिकता गिराउन, यसलाई त्यही संविधानको संरक्षक भूमिकामा ल्याउने प्रयास गरिरहेका कारण सचेत हुनुपर्ने बताएका छन्।
राप्रपा र रास्वपा नेताहरू उपसभामुख पदका लागि बैठक बसेको कुरा पछि भेटवालले यस्तो बताएका हुन्। ‘अहिले फेरि राप्रपालाई उपसभामुख दिनुपर्छ भन्ने भाष्य बनाउने प्रयास भइरहेको देखिन्छ। तर हामीले पहिले गरेका गल्तीहरू दोहोर्यायौँ भने, यसले पार्टीलाई थप कमजोर बनाउनेछ। राप्रपाले आफूलाई सङ्घीयता खारेज गर्ने, हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने पार्टी भनेर चिनाएको छ। यही विश्वासका आधारमा केही मतदाताले हामीलाई समर्थन गरेका छन्। यदि फेरि हामी त्यही संविधानभित्रका पदहरू लिएर बस्यौँ भने, त्यो उनीहरूप्रति बेइमानी हुनेछ।’ उनले भनेका छन्,’मन्त्री बन्ने विषयमा पनि यस्तै तर्क गर्न सकिन्छ—त्यो एउटा कार्यकारी भूमिका हो, जहाँ जनतासँग प्रत्यक्ष जोडिएका काम गर्न सकिन्छ। तर हाम्रो अनुभव के भन्छ भने, राप्रपा पटक–पटक सरकारमा जाँदा त्यसको नकारात्मक असर नै परेको छ, र अर्को चुनावमा पार्टी कमजोर हुँदै आएको छ। त्यसैले मन्त्री बन्ने अभ्यास पनि सही थिएन भन्ने पुष्टि जनमतबाट भइसकेको छ।’




