कांग्रेसबाट गभर्नर बन्न नपाएका भट्टलाई रास्वपाले दियो योजना आयोगको साँचो

हिमाल प्रेस २४ चैत २०८२ १४:३१ | Tuesday, April 7, 2026
22
SHARES
कांग्रेसबाट गभर्नर बन्न नपाएका भट्टलाई रास्वपाले दियो योजना आयोगको साँचो गुणाकर भट्ट

काठमाडौँ-  एक वर्षअघि तत्कालीन सत्ताधारी दलका शीर्ष नेताहरू केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सहमति भएर पनि गभर्नर बन्न नपाएका डा. गुणाकर भट्टलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

भट्टले गभर्नर बन्ने पक्का भएपछि २०८२ वैशाखमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तत्कालीन प्रधानमन्त्री ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका तत्कालीन सभापति देउवाबीच भट्टलाई गभर्नरमा नियुक्त गर्ने सहमति भएको थियो।

सोहीबमोजिम भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर भट्टको राजीनामा कायममुकायम गभर्नर नीलम ढुंगानाले लामो समयसम्म स्वीकृत नगरेपछि उनको गभर्नर बन्ने बाटो बन्द भएको थियो। त्यसपछि डा. विश्व पौडेल गभर्नर बनेका थिए। सुदूरपश्चिमका भट्टलाई देउवाले गभर्नर बनाउन चाहेका थिए।

भट्टले अमेरिकाको स्कुल अफ वेने स्टेट युनिभर्सिटीबाट ‘फाइनान्सियल डेभलपमेन्ट एन्ड हेल्थ क्यापिटल एक्युमुलेसन’ शीर्षकमा विद्यावारिधि गरेका छन्। त्यस्तै उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहमा सर्वोत्कृष्ट नतिजा ल्याएबापत स्वर्णपदक जितेका थिए। राष्ट्र बैंकमा २५ वर्षभन्दा बढी सेवा गरेका उनीसँग अधिकांश विभागमा रहेर काम गरेको अनुभव छ। भट्टले अर्थ मन्त्रालयमा सल्लाकार भएर पनि काम गरेका छन्।

उनी डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकार थिए। उनीसँग त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका विभिन्न कलेजमा पढाएको अनुभव छ। भट्ट विवादरहित मानिन्छन्।

प्रकाशित: २४ चैत २०८२ १४:३१ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast