काठमाडौँ- काठमाडौँ महानगरपालिका-३ स्थित रानीदेवी माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सव शनिबार सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ महानगरपालिका-३ का अध्यक्ष प्रेम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सो अवसरमा अध्यक्ष थापाले विद्यालयको प्रगतिको चर्चा गरे। उनले भने, ‘यो विद्यालयलाई नमुना बनाउँछौँ भनेर चुनावमा भोट मागेका थियौँ।
आज त्यो पूरा भएको छ। प्रवेश परीक्षा लिएरै विद्यार्थी भर्ना गर्यौँ। पहिले निजी विद्यालयमा नरुचाइएका विद्यार्थी भर्ना हुन्थे। अहिले त्यो अवस्था छैन। निरन्तर शैक्षिक, भौतिक प्रगतिले आज यो अवस्थामा आएका छौँ।’
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले विद्यालयको आगामी योजना प्रस्तुत गरे। उनले भने, ‘आदरणीय अभिभावकज्यू, हामी कक्षा ११ सञ्चालन गर्न अगाडि बढेका छौँ। अब कक्षा १२ पनि यहीँ पढ्न पाउने आधार सिर्जना भइरहेको छ।’
उनले थपे, ‘प्रविधिमैत्री, संस्कारसहितको शिक्षा, अभिभावकले खोजेको शिक्षा दिन रानीदेवी तयार भइसकेको छ। कक्षा ६ देखि १० सम्म कम्प्युटर शिक्षा विद्यालयले दिइरहेको छ।’ भवन अभावको चिन्ताबारे उनले प्रस्ट पारे। गाैतमले भने, ‘विद्यालय भवन पुग्दैन भनेर चिन्ता नगर्नुहोस्। छिट्टै हाम्रो अर्को भवन पनि तयार हुँदै छ।’
निवर्तमान प्रधानाध्यापक रामजी गौतमले वर्तमान नेतृत्वप्रति विश्वास व्यक्त गर्दै भने, ‘प्रधानाध्यापक नारायणप्रसाद गौतमकै कार्यकालमा यो विद्यालय नमुना बन्नेमा विश्वास राखेका छौं।’
पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष कविन्द्ररत्न कंसाकारले विगतको स्मरण गरे। उनले भने, ‘नेकपा माओवादी सशस्त्र द्वन्द्वले देशको अवस्था संकटपूर्ण हुँदा पनि त्यो समयमा निरन्तर पठनपाठन सञ्चालन गर्यौं। त्यो सम्झिँदा गर्व लाग्छ,’ उनले जोड दिए, ‘जस्तोसुकै संकटमा पनि पठनपाठनलाई निरन्तरता दिनु आवश्यक हुन्छ। समयसापेक्ष शिक्षा प्रदान गर्न प्रधानाध्यापक, शिक्षक, कर्मचारीको तलबमा राज्यले ध्यान दिनुपर्छ।’

पूर्व शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विद्यालयसँगको आफ्नो सम्बन्ध स्मरण गरे। उनले भने, ‘यो विद्यालयको दुःख सुख दुबैमा जोडिएको छु। जसले राम्रो काम गरेको छ, त्यो विद्यार्थीको नतिजामा देखिएको छ,’ उनले थपे, ‘भवन मात्रै ठूलो होइन, शैक्षिक अवस्था पनि राम्रो सावित गर्न सकोस्।’
अर्का शिक्षा अधिकारी नवराज ढकालले समयअनुसार शिक्षा प्रणाली रूपान्तरणको आवश्यकता औँल्याए। उनले भने, ‘समयसँगै प्रविधि र संस्कारलाई सँगसँगै लैजानुपर्छ,’ उनले थपे,‘सामुदायिक विद्यालयमा भर्ना नपाएपछि मात्रै निजीमा लैजाने विदेशको व्यवस्था जस्तै नेपालमा पनि त्यही हुनुपर्छ। निजी विद्यालयमा शुल्कको अवस्थाबारे पनि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले काम सुरु गरिसकेको छ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रसन्ननरसिंह राणा, सदस्यहरू, वडा सदस्यहरू, संस्थापक स्व. प्रतापमान शाक्यका परिवारजन, शिक्षक, कर्मचारी, स्थानीय बुद्धिजीवी, अभिभावक, पूर्व पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो।





