काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित भएका छन्। अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन्। राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मत पाए। तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।
राउतले वस्तुगत तर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए। जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो। एसोसिएटतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा सीमित भए। शिवम् अर्गनाइजेसनका अध्यक्ष राउत महासंघ कोशीका संस्थापक सदस्य हुन्। उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ। उनीसँग प्रतिस्पर्धामा होमिएका रिजाल महासंघका केन्द्रीय सदस्य हुन्।
महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए। जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भए। निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका हुन्।
एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए। जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन्। वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन्।




