एफएनसीसीआईको चुनावपछि निजी क्षेत्र एकजुट हुन्छ : शिवप्रसाद घिमिरे (भिडियो अन्तर्वार्ता)

हिमाल प्रेस २० चैत २०८२ १२:०८ | Friday, April 3, 2026
12
SHARES
एफएनसीसीआईको चुनावपछि निजी क्षेत्र एकजुट हुन्छ : शिवप्रसाद घिमिरे (भिडियो अन्तर्वार्ता)

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा नजिकिँदै जाँदा चुनावी माहोल तातिँदै गएको छ। यसै सन्दर्भमा वस्तुगततर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले गुटउपगुटभन्दा निजी क्षेत्रको एकता आवश्यक रहेको बताएका छन्।

हिमालप्रेसको ‘बज डाइलग’ कार्यक्रममा बोल्दै उनले प्रतिस्पर्धा स्वाभाविक भए पनि अनावश्यक गुटबन्दी उपयुक्त नहुने बताए। उनले भने,‘निजी क्षेत्र एकै ठाउँमा सर्वसम्मत ढंगले अगाडि बढ्न सके राम्रो हुन्थ्यो तर एकभन्दा बढी आकांक्षी भएपछि प्रजातान्त्रिक प्रक्रिया अपरिहार्य हुन्छ।’

उनले चैत ३० गतेसम्म मात्र चुनावी प्रतिस्पर्धा रहने र त्यसपछि निजी क्षेत्र पुनः एकजुट हुने विश्वास व्यक्त गरे। घिमिरेले आफूहरू अञ्जन श्रेष्ठ निकट समूहसँग सहकार्य गर्दै आएको र प्यानल सहभागिता सहकार्यको निरन्तरता भएको बताए।

वर्तमान अवस्थामा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम रहेको उनको भनाइ छ। ‘अब टिमहरू छुट्टिएर अगाडि बढिसकेपछि सर्वसम्मत हुने सम्भावना कम देखिन्छ,’ उनले भने।

महासंघलाई प्रभावकारी बनाउन संरचनात्मक सुधार आवश्यक रहेको औंल्याउँदै उनले कानुनी अध्ययन, नीति विश्लेषण र अनुसन्धानमा केन्द्रित संयन्त्र निर्माण गर्नुपर्ने बताए।

‘नेपाल उद्योग वाणिज्य महासंघ सरकारको आर्थिक सल्लाहकारको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘ऐन-कानुन संशोधनदेखि तथ्यमा आधारित सुझाव दिन सक्ने क्षमता विकास गर्नुपर्छ।’

उनले विगतमा सरकारको अस्थिरताले निजी क्षेत्र निराश बनेको र लगानी वातावरण कमजोर भएको उल्लेख गरे। ‘लगानी गर्ने वातावरण नहुँदा बैंकमा पैसा थुप्रिएको छ तर उद्योगमा लगानी गर्ने अवस्था छैन,’ उनले भने।

नेपालको आर्थिक विकासका लागि निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने उनको धारणा छ। जडिबुटी, पर्यटन र हस्तकलाजस्ता क्षेत्रको अध्ययन गरी मूल्य अभिवृद्धि गरेर निर्यात गर्नुपर्ने उनले सुझाए।

महासंघलाई साना ठूला सबै व्यवसायीको साझा संस्था बनाउनुपर्ने उनको भनाइ छ। उनी भन्छन्,‘सडकमा सागसब्जी बेच्ने देखि ठूला उद्योगी सबैको साझा संस्था महासंघ हुनुपर्छ।’ सरकारले अघि सारेको सुशासन र भ्रष्टाचार नियन्त्रण अभियानमा निजी क्षेत्रले पूर्ण साथ दिने पनि घिमिरेले बताए।

उनका अनुसार पारदर्शिता र नीतिगत सुधारमार्फत मात्रै लगानी सुरक्षित गर्न सकिन्छ। ‘सुशासन र भ्रष्टाचार अन्त्य नै निजी क्षेत्रको प्रमुख चासो हो, त्यसमा हामी पूर्ण रूपमा सहयोग गर्न तयार छौं,’ उनले भने।

भिडियो

प्रकाशित: २० चैत २०८२ १२:०८ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast