काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालस्थित विभिन्न मित्र मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज (बुधबार) सामूहिक भेट र संवाद गरेका छन्। उनले राजदूतहरूको जिज्ञासा मेटिने गरी जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनी कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्दा चस्मा फुकालेर प्रस्तुत भएका थिए। कैयनले उनको चस्माको विषय उठाउँदै आए पनि कूटनीतिक कार्यमा उनी आफैँ सजक देखिएका छन्। फोटो सेसनमा चस्मा लगाए पनि छलफलमा उनले चस्मा लगाएनन्। ‘आई टू आई’ नै कुरा गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन्। भेटमा भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तान, दक्षिण कोरिया, जापान, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति थियो।

राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका थिए। सरकारको चासो र आफूले गर्न सक्ने सहयोगको बारेमा पनि खुलेर छलफल भएको उपस्थित अधिकारीहरूले बताए।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए। उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेका थिए। सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।





