पोखरा- पोखरा-२५, हेमजामा शुक्रबारदेखि राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक–परिकार अनेक’ भन्ने नाराका आयोजित महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरे।
आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैँमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्राण्डिङ गर्न सफल भएको सुनाए। उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोहीअनुसार रातो किताबमा समेटिएको जनाए।
हेमजाका विकास आयोजना चौरासी नहर, साझाचोक तिब्वतीयन क्याम्प सडक तथा सुइँखेत खोला व्यवस्थापनलगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे।
महानगर प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दाबी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको बताए। उनले कृषि मर्यादित, गर्वलायक कर्म भएको जनाउँदै आलु महोत्सवका कारण हेमजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको बताए।
आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको सयोगले आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गरे। महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषि झाँकी र्याली निकालिएको थियो।
२७ चैतदेखि ५ वैशाखसम्म संचालन हुने महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोगको निदान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कलाकारको दैनिक प्रस्तुति लगायतका आकर्षण रहेका छन्।
महोत्सवमा विभिन्न ३० कृषिस्टल तथा सय वटा व्यापारिक स्टल राखिएका छन्। आलुको मात्रै एउटा स्टल छ। यहाँ महोत्सव अवधिभर प्रतिकेजी ३५ रुपैयाँमै आलुको कारोबार हुनेछ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५९० हेक्टरमा आलुखेती हुने गरेको पाइन्छ। आलुखेतीमा स्थानीय करिब २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन्।




