नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाही
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले संघीयता, गणतन्त्र, समावेशीतालगायतका उपलब्धीहरुलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शाहीले अहिलेको नेपाली राजनीतिक जग संघीयता, गणतन्त्र, समावेशीता भएको भन्दै प्राप्त उपलब्धिहरू जोगाउनु सबैको साझा दायित्व भएको बताए।
देशमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले जनताले दिएको जिम्मेबारी पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले देशको समग्र विकासका लागि सधैं रचनात्मक साथ रहने धारणा राखे। उनले संसद तथ्यमा आधारित बौद्धिक बहस गर्ने थलो भएकाले एक अर्काले गालीगलौज, आरोप प्रत्यारोप नभइ एक ठाउँमा उभिएर विकास, आर्थिक समृद्धि, सुशासन, सामाजिक न्यायका विषयमा बहस हुनुपर्नेमा जोड दिए।
उनले सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गर्न सुझाव दिए।
सांसद शाहीले उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पूँजीको विकास नगरी देश अगाडि बढ्न नसक्ने भएकाले वैदेशिक अनुदान र ऋणको भरमा मात्र नभइ आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक रहेको बताए।
नेपालको भूराजनीतिक संवेदनशीलताप्रति सचेत रहँदै पञ्चशीलको सिद्धान्त र असंग्ल परराष्ट्र नीतिका आधारमा मात्र परराष्ट्र सम्बन्ध अघि बढाउन उनले सरकारलाई सुझाव दिए।




