काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध (खैरो हिरोइन) र रु एक लाख ७२ हजार ७०० सहित एक जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
झापा अर्जुनधारा नगरपालिका-१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-१० बस्ने २७ वर्षीय रामचन्द्र पुरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनले भने, ‘बूढानीलकण्ठ-१० नगर अस्पताल एरियामा लागुऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले अस्पताल नजिक रामचन्द्र पुरी बस्ने डेरा कोठाको खानतलासी गर्दा ५९।५ ग्राम लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ र रु एक लाख ७२ हजार ७०० सहित पक्राउ गरिएको हो।’
प्रहरीका अनुसार निजको साथबाट डिजिटल तराजु एक थान, डायरी एक थान तथा एक थान निलो रङको आइफोन पनि बरामद गरिएको जनाएको छ।
पक्राउ परेका निज पुरीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताए।




