काठमाडौँ- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठूलो एनिमल पास निर्माण भइरहेको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको झापा चारआली क्षेत्रमा हात्तीका लागि राजमार्गमा छुट्टै ओभरपास निर्माण थालिएको हो।
भारतबाट जगंली हात्ती आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा-लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिए। एशियाली मापदण्डको सडक निर्माण थालिएसँगै जंगली जनावरका लागी पनि छुट्टै रुट निर्माण थालिएको हो।
बायो डाइभरसिटी अध्यायनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको इ. महत बताउँछन्। भारतबाट आउने जगंली हात्तीका कारण यो क्षेत्रमा सवारी आवागनलाई अवरोध नहुने गरी रुट निर्माण थालिएको छ। यहाँ १५ मिटर चौडाई र ६ दशमलव ५ मिटर उचाईका २ वटा पुल निर्माण भइरहेको छ। पुल निर्माण भएसँगै हात्तीहरुको निगरानी राख्न सुक्ष्म क्यामेरा समेत जडान गरिने इ. महतले जानकारी दिए।




