यूएईस्थित नेपाली दूतावास
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीस्थित अब्जान क्षेत्रमा शुक्रबार भएका घटनामा घाइते भएका नेपालीहरूको अवस्था सामान्य रहेको नेपाली राजदूतावासले जनाएको छ।
आबुधाबीस्थित दूतावासले जनाएअनुसार उक्त घटनामा घाइते भएका ६ जना नेपालीमध्ये पाँच जनालाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।
बाँकी एक जना गम्भीर घाइते भए पनि उनी खतरामुक्त रहेको र छिटै डिस्चार्ज हुने दूतावासको भनाइ छ। दूतावासबले घाइते सबै व्यक्तिसँग सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।
यसका साथै चार जनासँग प्रत्यक्ष भेटघाटसमेत गरी आवश्यक सहयोग र समन्वयका लागि निरन्तर काम भइरहेको दूतावासले जनाएको छ। दूतावासले जनाएअनुसार यूएई सरकारले घाइते नेपालीहरूलाई आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराइरहेको छ।
पश्चिम एसियामा विकसित हालको परिस्थितिलाई मध्यनजर गर्दै यूएईमा रहेका नेपालीलाई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मार्गदर्शन तथा सूचनाहरू पूर्णरूपमा पालना गर्न दूतावासले अनुरोध गरेको छ।
आधिकारिक स्रोतबाट मात्र सूचना लिन र त्यसअनुसार सचेत रहन पनि दूतावासले आग्रह गरेको छ।




