काठमाडौँ- नयाँ वर्ष २०८३ को उल्लाससँगै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको यस दूरसञ्चार कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा प्याकेजहरू ल्याएको हो।
कम्पनीले यसपटक ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई विकल्प अगाडि सारेको छ, जसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट अनुभव दिने अपेक्षा गरिएको छ। टेलिकमका अनुसार ‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा चलाउन पाउनेछन्।
तोकिएको दैनिक ५ जीबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा दिइएको छ। त्यसैगरी, अलि बढी डाटा खपत गर्नेहरूका लागि ‘न्यु इयर प्रिमियम’ प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँ पर्ने यस प्याकेजमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ भने दैनिक सीमा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।
यो विशेष अफर आज चैत ३० गतेदेखि सुरु भई आगामी वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। ३० दिनको समयावधि रहने यी प्याकेजहरू पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्दा त्यसको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ। नयाँ वर्षको अवसरमा ग्राहकलाई सस्तो र गुणस्तरीय डाटा सेवा दिने उद्देश्यले यो योजना ल्याइएको कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन्।
टेलिकमको यो अफर लिन इच्छुक ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर आफूलाई मन पर्ने प्याकेज छनोट गर्न सक्नेछन्। यसका साथै ‘नेपाल टेलिकम एप’मार्फत पनि यी प्याकेजहरू सजिलै खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।




