काठमाडौँ- विगत एक दशकदेखि प्रतीक्षारत ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ शुक्रबार काठमाडौँमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको शुभारम्भ महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले गरेका थिए। सो अवसरमा उनले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्बन्धित कृतिहरू समर्पण गरेका थिए।
२०३१ सालमा नेपाली भाषासाहित्यमा पहिलोपटक विद्यावारिधि प्राप्त गरेका त्रिपाठीकै प्राज्ञिक नेतृत्वमा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईले नेपाली भाषासाहित्यको विकास र विस्तारसँग सम्बन्धित अध्ययन हुन बाँकी पक्षहरू तथा उच्च शिक्षाका केही अनिर्णीत विषयहरूको समाधान खोज्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिइन्।

सम्मेलनमा भारतका १३ तथा नेपालका ६ विश्वविद्यालयबाट नेपाली भाषासाहित्यको अध्यापन र अनुसन्धानसम्बन्धी दस्तावेज प्रस्तुत गरिने कार्यक्रम छ। पहिलो दिन सहभागी प्राज्ञहरूले आफ्नाआफ्ना विश्वविद्यालयबारे प्रस्तुति दिएका थिए।
इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न पहिलोदिनको समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीसहित प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, प्रा.डा. कविता लामा, सल्लाहकार प्रा. केशव सुवेदी, सम्मेलन संयोजक प्रा.डा. महादेव अवस्थीलगायत नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने पच्चीसजना प्रतिनिधि प्राज्ञहरूले परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए। सो अवसरमा उनीहरूले नेपाल-भारतबिचको जनस्तरको सम्बन्ध उचाइमा पुर्याउन नेपाली भाषाको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए।
समारोहमा नइ एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले २०७२ सालमा अठोट गरिएको सम्मेलन एक दशकपछि आयोजना गर्न सफल भएको जानकारी गराएका थिए। आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल-भारतका विश्वविद्यालयमा प्राध्यापनरत नेपाली भाषा साहित्यका प्राध्यापकहरूको सहभागिता रहेको छ।




