काठमाडौँ- नेपाली भाषा-साहित्यमा विद्यावारिधि (पीएचडी) गरेका नेपाल र भारतका चार सयभन्दा बढी विद्वान्हरूको सहभागितामा ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि काठमाडौँमा सुरु हुँदै छ।
नइ एकेडेमीको आयोजनामा हुने तीनदिने सम्मेलनले नेपाली भाषा-साहित्यको इतिहासदेखि वर्तमानसम्मका प्राज्ञिक बहसलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
एकेडेमीकी कुलपति इन्दिरा प्रसाईका अनुसार चैत २७, २८ र २९ गतेसम्म सञ्चालन हुने सम्मेलनमा दुवै देशका विश्वविद्यालयका प्राध्यापकहरूले नेपाली भाषा-साहित्यका विविध पक्षमा विद्वत् प्रवचन प्रस्तुत गर्नेछन्।
हालसम्म त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा भारतका विभिन्न विश्वविद्यालयहरूबाट नेपाली विषयमा चार सयभन्दा बढीले विद्यावारिधि गरिसकेका छन्।
सम्मेलन आयोजक संस्था एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले भने,‘नेपाली भाषा साहित्यमा जतिले विद्यावारिधि उपाधि लिएका छन्, ती विद्वान्-विदुषीहरूको सम्मेलन हो।’
नेपाली भाषा-साहित्यमा पहिलो विद्यावारिधि उपाधि प्रा.डा. वासुदेव त्रिपाठीले २०३१ सालमा त्रिभुवन विश्वविद्यालयबाट ‘कविशिरोमणि लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन’ शीर्षकमा हासिल गरेका थिए।
त्यस्तै वानीरा गिरिले २०४२ सालमा ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधि गर्दै पहिलो महिला पीएचडीधारी बनेकी थिइन्।
एकेडेमीले सङ्कलन गरेको विवरणअनुसार नेपाली भाषा साहित्यमा विद्यावारिधि उपाधि प्राप्त गर्नेको संख्या चार सय नाघेको छ।
नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञाप्रतिष्ठानसँग नेपाली भाषासाहित्यमा अहिलेसम्म कति जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन् भन्ने कुनै आधिकारिक विवरण छैन।
प्रसाईले भने, ‘हामीले त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल सरकारले पनि गर्न नसकेको कार्यक्रम आयोजना गर्न लागेका हौँ। अहिलेसम्म त्रिभुवन विश्वविद्यालयसँग र भारतका प्रायः विश्वविद्यालयहरूसँग पनि यी सामग्रीहरू थिएनन्, जुन हामीले प्रकाशन गर्न लागेका छौँ।
तीन दिन, तीन चरणका कार्यक्रम
सम्मेलनको पहिलो दिन परिचयात्मक सत्रमार्फत सम्मेलन सुरु हुनेछ, जसमा २८ जना विद्वान्हरूले आआफ्ना विश्वविद्यालय र अध्ययन क्षेत्रबारे प्रस्तुति दिनेछन्।
दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन महासमालोचक एवम् नेपाली भाषा-साहित्यमा पहिलोपटक विद्यावारिधि उपाधि लिएका प्रा.डा. वासुदेव त्रिपाठीले गर्नेछन्।
उद्घाटनसत्रमा प्रा.डा. शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कविता लामा, प्रा.डा. दिवाकर प्रधान, प्रा. केशव सुवेदी र प्रा.डा. महादेव अवस्थीले विद्वत् प्रवचन दिने कार्यक्रम छ। नयाँ पुस्ताबाट डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईले पनि आफ्ना धारणा राख्नेछन्।
उक्त अवसरमा नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको सम्पादनमा तयार गरिएको ८७२ पृष्ठको ‘नेपाल र भारतका विश्वविद्यालयहरूको दस्तावेज’ लोकार्पण गरिनेछ। ग्रन्थमा नेपाली साहित्यको उत्पत्ति, विकासक्रम र भाषाको ऐतिहासिक यात्रासम्बन्धी विस्तृत अध्ययन समेटिएको छ।
तेस्रो दिन सहभागी विद्वान्हरूले संक्षिप्त प्रवचन दिनेछन्। सोही दिन २९ जनालाई जनही ५० हजार रुपैयाँ राशिको ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिनेछ।
सरकारी सहयोगबिनै ३५ लाखको सम्मेलन
सम्मेलनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजक नइ एकेडेमीले सम्मेलनका लागि भनेर नेपाल सरकार, कूटनीतिक नियोग वा गैरसरकारी संस्थाबाट कुनै पनि आर्थिक सहयोग नलिएको स्पष्ट पारेको छ।
‘एकेडेमीले बर्सेनि आयोजना गर्दै आएको यस वर्षका कार्यक्रम स्थगित गरेर सम्मेलन आयोजना गरेका हौँ,’ सदस्यसचिव प्रसाईले भने।
सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी, सल्लाहकार प्रा. केशव सुवेदी र सहयोगी प्रा.डा. ऋषिराम शर्मा रहेका छन्।




