ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

हिमाल प्रेस २१ चैत २०८२ ६:५८ | Saturday, April 4, 2026
4
SHARES
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौँ- धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने मनमैजु (अजिमा) जात्रा सुरु भएको हो। बालाजुमा लाग्ने जामाचो मेलासँगै मनमैजु जात्रा लाग्ने धार्मिक विश्वास रहेको छ । चैत शुल्क पूर्णिमाको दिन लिच्छविकालिन राजा गुणकाम देवले प्रचलन ल्याएको शक्तिदेवी मनमैजु माईको जात्रा प्रत्येक वर्ष मनाउँदै आइएको छ।

प्रत्येक वर्ष साइतअनुसार चैत र वैशाख शुक्ल पूर्णिमाको अवसरमा हुने उक्त जात्रा आयोजना हुने गरेको छ । यसवर्ष भने चैत शुक्ल पूर्णिमादेखि सुरु भएको हो । जात्रा सुरु हुनुभन्दा चार दिन अगाडि ठमेलका प्रधानले देवी देवतालाई निम्तो पठाई (नेटं) पुजा गरेपछि मनमैजुको औपचारिक जात्रा सुरु हुन्छ।

चैत शुक्ल पूर्णिमाको अघिल्लो दिन मनमैजु मन्दिरको अगाडि प्रांगणमा लिंगो ठड्याउने काम सुरु हुन्छ । लिंगो ठड्याएपछि नुवाईधुवाई गर्न नहुने, कुटो कोदालो चलाउन नहुने प्रचलन रहेको छ । सोही दिन श्री इन्द्रायणी माईलाई देवता घरबाट बाजागाजासहित मन्दिरको सिंहासनमा बसाल्ने गरिन्छ।

सोही दिन राति यहाँका बासिन्दालाई रोगब्याधी नलागोस् भनेर देवता घरबाट (मरजा) भात र देवीका गरगहनालाई जात्रा गरेर मनमैजु मन्दिरमा ल्याउने चलन रहेको मजमैजुका स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिए । जात्राको दोस्रो दिन यहाँका पास्नी नगरेका बालबालिका र गुफा नबसेका बालिकालाई रोगब्याधी नलागोस् भनेर देवीको जुठोको रूपमा मरजा (भात ) खुवाउने प्रचलन छ।

जात्राको तेस्रो दिन इन्द्रायणी माई (मनमैजु अजिमा) लाई बाजागाजा र सिन्दूरसहित जात्रा गरेर ऐतिहासिक बस्ती परिक्रमा गरी देवता घरमा लगेर बिसाइने गरिन्छ। यस्तै, जात्राको चौँथो दिन साविक मनमैजु क्षेत्रका बासिन्दाले आफन्तलाई बोलाएर भोज खुवाई दुःखसुख बाड्ने प्रचलन रहेको छ।

जात्राको अन्तिम अर्थात् पाँचौँ दिन देवता घरबाट इन्द्रायणी माईको सिन्दूरसहितको जात्रा गरी ऐतिहासिक मनमैजु वस्तीको परिक्रमा गरी देवता घरमा लगेर बिसाइन्छ । सोही दिन लिङ्गो ढाल्ने प्रचलन चल्दै आएको छ ।

मनमैजु जात्राको अवसरमा मनमैजु युवा समूहले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । समूहका अध्यक्ष हिरा महर्जनले तारकेश्वर नगरपालिका–९ को मनमैजुमा जात्राको चौँथो दिन भोलि (शनिबार) बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उक्त समूहले शनिबार १३औँ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष महर्जनले बताए । अजिमा माईको पवित्र जात्राको अवसर पारेर भोलि १३ औँ वृहत मनमैजु सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा नेवारी बाजागाजा, नेवारी तथा अन्य सांस्कृतिक नृत्य, गायन, धिमे नाच लगायतका आकर्षक प्रस्तुती रहने अध्यक्ष महर्जनले बताए। यस्तै, विभिन्न सङ्घसंस्थाका विशेष प्रस्तुती तथा ब्याण्डको सांगीतिक कार्यक्रमले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउने अपेक्षा आयोजकले गरेको छ ।

‘मनमैजुको मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ, सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जन मात्र नभई पहिचान र एकताको प्रतीक समेत हो,’ उनले भने। बुधबारदेखि सुरु भएको मनमैजु जात्रा आइतबार सकिनेछ । जात्राका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ।

प्रकाशित: २१ चैत २०८२ ६:५८ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast