करण केसीको टिप्पणीले विवाद, एक खेलमा प्रतिबन्ध

हिमाल प्रेस २९ चैत २०८२ १३:२१ | Sunday, April 12, 2026
12
SHARES
करण केसीको टिप्पणीले विवाद, एक खेलमा प्रतिबन्ध

काठमाडौँ- तीव्र गतिका बलर करण केसीलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ। अम्पायरसँग सम्बन्धित एक संवेदनशील विषयमा उनले गरेको टिप्पणीपछि उनलाई खेलमा प्रतिबन्ध लगाइएको हो।

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताका क्रममा अम्पायरिङबारे बहस चर्किरहेका बेला करणले सामाजिक सञ्जालमा यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति म्याच ब्यान हुन्छ? भन्ने आशयको टिप्पणी गरेका थिए। उक्त कमेन्ट उनले पटकपटक सम्पादनसमेत गरेका थिए।

करणको यो अभिव्यक्तिलाई लिएर आलोचना सुरु भयो। विशेषगरी अम्पायरको पेसागत सुरक्षा र सम्मानमाथि प्रश्न उठ्ने खालको अभिव्यक्ति भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाए। त्यसपछि नेपाल अम्पायर्स तथा स्कोरर्स संघले विज्ञप्ति जारी गर्दै कडा कारबाहीको माग गर्‍यो।

विवाद बढ्दै गएपछि करणले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै माफी मागे। उनले उक्त टिप्पणी मजाकका रूपमा गरेको बताउँदै त्यसबाट कसैलाई ठेस पुगेको भए क्षमायाचना गरेका थिए।

तर माफीपछि पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कारबाही गर्‍यो। क्यानले खेल भावना विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै करणलाई प्रधानमन्त्री कपको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित: २९ चैत २०८२ १३:२१ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast