काठमाडौँ- कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीलाई बाँडफाँटपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।
सो आईपीओमा न्यूनतम १० तथा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । चैत २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई बीबी संकेत प्रदान गरेको छ। यसले कम्पनीको दायित्व पूरा गर्न केही कमजोर मध्यमस्तरमा रहेको जनाउँछ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ।
आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता अवधि ९।१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५।३६ वर्ष छ ।




