धादिङ- धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ। नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो।
आज (आइतबार) ज्वालामुखी गाउँपालिका-४ ढोलामा विशेष कार्यक्रमसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गरे। सरसफाइ र स्वच्छतासम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकामा प्रशंसा गरे।
यहाँका प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्णपालना गराई सफा तथा स्वच्छ पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए। ‘हाम्रो लक्ष्य तथ्याङ्कमा मात्र होइन, नागरिकको जीवन र व्यवहारमा सरसफाइको संस्कृति बसाल्नु हो। सफा र स्वच्छ ज्वालामुखीको सङ्कल्प पूरा गर्न हामीले वडास्तरबाट सूचकहरू पूरा गरेर आएका छौँ,’ उनले भने, ‘यो अभियानमा हरेक घरधुरीको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक छ। हामी सुरक्षित खानेपानी र पूर्ण सरसफाइको अधिकारलाई घरघरमा सुनिश्चित गर्न कटिबद्ध छौँ।’
ज्वालामुखी गाउँपालिकामा छ हजार ७९ घरधुरी छन्। त्यसमध्ये पाँच हजार ४३३ घरधुरी आवासको रूपमा प्रयोग भइरहेका छन्। सबै घरधुरीमा सुरक्षित र शुद्ध पानी, शौचालय, चुलोलगायत स्वच्छताका आधारको प्रयोग भइरहेको अध्यक्ष दनैले बताए।




