तस्बिर : एएफपी
काठमाडौँ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताएका छन्। इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ।
इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहविरुद्धको कारबाहीको निरन्तरताका लागि आक्रमण जारी राखिएको इजरायलले जनाएको छ।
इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटरभन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी गरेको छ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्ने चेतावनी जारी गरे पछि इजरायलले आक्रमण गरेको जनाइएको छ।
यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामको स्वागत गर्दै युद्धविरामले लेबनानलाई पूर्ण रूपमा समावेश गरेको सुनिश्चित गर्नु पर्ने इच्छा व्यक्त गरे।
पछिलो समयमा इजरायली आक्रमणले एक हजार ५०० भन्दा बढी मानिसको ज्यान लिएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्। लेबनानी अधिकारीहरूका अनुसार, विशेष गरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको प्रभुत्व रहेको छ।
निकासी आदेश जारी गर्दै लेबनानी सेनाले विस्थापित मानिसहरूलाई दक्षिणमा नफर्कन चेतावनी दिएको छ।
युद्धविरामको घोषणा हुनुभन्दा केही समयअघि दक्षिणी सहर सिडोनमा भएको इजरायली आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो।-रासस/एएफपी




