ट्रम्पको चेतावनीपछि इजरायलद्वारा इरानी ग्यास उद्योग परिसरमा आक्रमण

हिमाल प्रेस २३ चैत २०८२ २१:०७ | Monday, April 6, 2026
38
SHARES
ट्रम्पको चेतावनीपछि इजरायलद्वारा इरानी ग्यास उद्योग परिसरमा आक्रमण तस्बिर : एफपी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पूर्णरूपले नखोलिए नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीको समयअवधि सकिनै लाग्दा सोमबार इजरायलले इरानको सबैभन्दा ठूलो ग्यास उद्योग परिसर (पेट्रोकेमिकल कम्पलेक्स) मा आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार ४८ घन्टाको अल्टिमेटम दिँदै इरानलाई स्ट्रेट अफ होर्मुज पूर्णरूपमा खोल्न चेतावनी दिएका थिए।

उनले भनेका थिए,‘यदि तेहरानले स्ट्रेट अफ होर्मुज मंगलबार ८ बजेसम्म पूर्णरूपमा नखोले इरानी पुल र पावर प्लान्टहरूमा अमेरिकाले आक्रमण गर्नेछ।’

अमेरिका र इजरायलले इरानी संरचना र नेतृत्वलाई निशाना बनाएपछि इरानले बदलामा इजरायल, कुवेत र यूएईविरूद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो। इजरायली आक्रमणमा सोमबार एक इरानी सेनाका कमान्डरको मृत्यु भएको छ।

अमेरिकाले सर्वसाधारण लक्ष्यमा आक्रमण गरे इरानले थप विनाशकारी जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानले ऊर्जा ढुवानीमार्ग स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा रोक लगाएको छ। उसले होर्मुजबाट राम्रो सम्बन्ध रहेका मुलुकको जहाजलाई अवरोध नगरे पनि अन्यलाई प्रतिबन्ध लगाएको छ। यसले सहज आपूर्ति हुन नसक्दा तेल र ग्यासको मूल्य विश्वभर बढेको छ।

सोमबार इजरायलले इरानको खाडी तटमा रहेको असालुयाहस्थित इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेको बताएको छ। इजरायली रक्षामन्त्री इजरायली काट्जका अनुसार यसले इरानको पेट्रोकेमिकल उत्पादनको करिब ५० प्रतिशत हिस्सा ओगटेको छ, जसको मूल्य दशौँ अर्ब डलर रहेको छ।

इरानको रिभोलुसनरी गार्डले पछिल्लो आक्रमणअघि होर्मुज अमेरिका र इजरायलका लागि आफ्नो पुरानो हैसियतमा कहिल्यै नफर्किने बताएको थियो।

गार्ड्सले सोमबार टेलिग्राममा पोस्ट गर्दै आफ्ना गुप्तचर प्रमुख माजिद खादेमी बिहान सबेरै अमेरिका–इजरायली आक्रमणमा मारिएको पनि पुष्टि गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘हामीलाई हानि पुर्‍याउन खोज्ने जोसुकैसँग पनि हामी पुग्न सक्छौँ। यो क्षमता इजरायलसँग छ।’

इजरायलको रक्षा मन्त्रालयले बहुस्तरीय हवाई प्रतिरक्षाको हिस्सा ठानिएको एरो मिसाइल इन्टरसेप्टर उत्पादन पनि बढाउने बताएको छ।

अमेरिका, इजरायली र क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै अमेरिकी समाचार वेबसाइट एक्सियोसले पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा ४५ दिने युद्धविरामका र थप स्थायी शान्तिका लागि वार्ताको लागि छलफल भइरहेको जनाएको छ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले आइतबार इजिप्टका अधिकारीहरू अमेरिकी दूत स्टिभ विटकोफ र इरानका विदेशमन्त्री अब्बास अराघचीसँग वार्तामा संलग्न रहेको पुष्टि गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast