काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ। शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले हराउँदै राजस्थान विजयी भएको हो।
आरसीबीले दिएको २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ र वैभव सूर्यवंशीले ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, रविन्द्र जडेजाले २४ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो।
आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले। यस्तै, विराट कोहली ३२, वेंकटेश अय्यरले २९ रन बनाए।
राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले २–२ विकेट लिए। यो जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ। पराजित भएको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ।




