काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। कोलकातास्थित इडेन गार्डेन्समा वर्षाले खेल अगाडि बढ्न नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका छन्। टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले ३.४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षा सुरु भएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि अम्पायरले खेल रद्द गर्ने निर्णय लिएका हुन्।
यो नतिजासँगै पन्जाब किंग्स ३ खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघिका दुई खेलमा पन्जाबले जित हात पारेको थियो।
यता, सिजनको सुरुवाती दुई खेलमा पराजित भएको कोलकाताले भने वर्षाको मद्दतले पहिलो अंक जोडेको छ। ३ खेलबाट १ अंक जोडेको कोलकाता तालिकाको आठौँ स्थानमा छ।
प्रकाशित: २४ चैत २०८२ ७:२० | Tuesday, April 7, 2026
प्रतिक्रिया




