काठमाडौँ- आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ। लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजवी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङको मद्दतले दिल्लीले लखनउलाई हराएको हो।
बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४१ रन बनायो। जवाफमा दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाउँदै खेल जित्यो।
१४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुलको विकेट गुमाएको थियो। उनले खाता समेत खोल्न सकेनन्। त्यसपछि टोलीले २६ रनमा ४ विकेट गुमाइसकेको थियो। यसक्रममा पथुम निसांका १ रन, नीतीश राणा १५ रन र कप्तान अक्षर पटेल शून्यमै आउट भए।
त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले पाँचौं विकेटका लागि ७६ बलमा १ सय १९ रनको साझेदारी गर्दै टोलीलाई १७ बल बाँकी छँदै जित दिलाए। रिजवीले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे। लखनऊका लागि प्रिन्स यादवले २० रन दिएर २ विकेट लिए भने मोहम्मद शमी र मोहसिन खानले १–१ विकेट लिए।
यसअघि लखनऊले मात्र १ सय ४१ रन बनाउन सक्यो। कप्तान ऋषभ पन्त ७ रनमै आउट भएपछि टोली दबाबमा आयो। त्यसपछि मिचेल मार्शले एडेन मार्करम (११ रन)सँग २९ रनको साझेदारी गरे। मार्शले ३५ रनको योगदान दिए। ७१ रनमा टोलीले ५ विकेट गुमाएको थियो।
त्यसपछि अब्दुल समदले मुकुल चौधरीसँग ३४ रन र शाहबाज अहमदसँग ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पु¥याए। समद २५ बलमा ३६ रन बनाएर आउट भए भने शाहबाज अहमद १५ रनमा अविजित रहे। मुकुलले १४ रन जोडे। दिल्लीका लागि लुंगी एनगिडी र टी नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट र अक्षर पटेलले १ विकेट लिएका थिए।
यससँगै सबै टोलीले आईपीएलको जारी सिजनमा एक–एक खेल खेलिसकेका छन्। सुरुआती पाँच खेलपछि अंक तालिका रोचक बनेको छ। राजस्थान रोयल्स शीर्ष स्थानमा छ, जसले आफ्नो पहिलो खेल जितेर २ अंक जोडेको छ र उसको नेट रन रेट पनि उत्कृष्ट छ।
रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छन्। दुबै टोलीको २–२ अंक भए पनि नेट रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका हुन्। मुम्बई इन्डियन्स र पंजाब किंग्स क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। अर्कोतर्फ गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनऊ सुपर जायन्ट्स, सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सले आफ्नो पहिलो खेल हारेका छन्, जसका कारण ती टोलीहरू तालिकाको तल्लो स्थानमा छन्।




