काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसलाई एक ठाउँमा ल्याउनको लागि अन्त्यसम्म पनि पहल गर्ने बताएका छन्।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस विवादको विषय अहिले अदालतमा रहेको भन्दै जस्तो फैसला आए पनि कांग्रेसलाई एक ठाउँमा ल्याउनको लागि अन्त्यसम्म पनि पहल गर्ने बताएका हुन्।
उनले केन्द्रीय समितिबाट नै निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्नेमा आफ्नो मत रहे पनि केहीलाई स्वीकार्य नभएकै कारण एकतर्फी ढंगले विशेष महाधिवेशन भएको तर्क गरे।
‘विशेष अधिवेशनको कुरा गर्ने हो भने मैले नै भनेको हो विशेष महाधिवेशनमा जानुपर्छ, तर मैले त्यहाँ एउटा शब्द जोडेको छु, केन्द्रीय समितिले निर्णय गरेर विशेष अधिवेश गरौँ,’ उनले भने,‘केन्द्रीय समितिले नगरे हामी अप्ठ्यारो स्थितिमा पुग्छौँ भनेर पटकपटक भनेको छु।’
कांग्रेसमा अहिले आफू कुनै पनि समूहमा नरहेको उनले बताए। उनले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने मात्रै आफ्नो इच्छा रहेको धारणा राखे।
त्यस्तै नेता कोइरालाले गत निर्वाचनमा कांग्रेसको भोट स्विइङ भएका कारण संसदमा निकै कमजोर उपस्थिति हुन पुगेको उल्लेख गरे।
‘अहिले मलाई के लाग्छ भने, यसपालि जुन निर्वाचन भएको छ, हामी पराजित भयौँ त्यसमा स्विङ भोट भएको छ, भोट शिफ्ट भएको छैन,’ उनले भने,‘फरक छ, स्विङ भोटमा र शिफ्ट भोटमा, स्विङमात्रै भएको छ अब शिफ्ट चाहिँ हुन हामीले दिनु हुँदैन।’
उनले पहिले कांग्रेसको लडाई वामपन्थीहरुसँग हुने गरेकोमा अबको लडाई लिबरल डेमोक्रेट्सहरुसित रहेकाले यस लडाइमा पनि कांग्रेस सफल हुने उल्लेख गरे।
‘पहिले पहिलेको हाम्रो लडाइ वामपन्थीहरूसँग हुन्थ्यो सजिलो थियो, अबको हाम्रो लडाइ लिबरल डेमोक्रेट्सहरूसँग छ,’ कोइरालाले भने,‘यो लडाइँमा हामी पछि पर्नु हुँदैन भन्ने मलाई लाग्छ, हाम्रो संगठन छ र हामी गर्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु।’




