पक्राउ पुर्जी जारी भएपछि देउवाले भने- हाम्रो सम्पत्तिबारे भ्रामक प्रचार भयो

हिमाल प्रेस २५ चैत २०८२ १९:३३ | Wednesday, April 8, 2026
14
SHARES
पक्राउ पुर्जी जारी भएपछि देउवाले भने- हाम्रो सम्पत्तिबारे भ्रामक प्रचार भयो

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचार भएको बताएका छन्। आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले वास्तविकता समयक्रमसँगै खुल्दै जाने भएकाले अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न अपिलसमेत गरेका हुन्।

‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ। नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु।’

उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको पनि दाबी गरेका छन्।

आफ्नो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको भन्दै उनले लेखेका छन्, ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ।’

देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

प्रकाशित: २५ चैत २०८२ १९:३३ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast