मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगले वनस्पति क्षेत्र संकटमा : वनमन्त्री

हिमाल प्रेस २९ चैत २०८२ १३:४१ | Sunday, April 12, 2026
6
SHARES
मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगले वनस्पति क्षेत्र संकटमा : वनमन्त्री

काठमाडौँ- वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्ने बताएकी छन्। जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको उनको भनाइ छ।

वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताइन्।

उनले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिइन्।

‘नेपाल जैविक विविधतामा धनी राष्ट्र हो, विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले हाम्रो देश महत्वपूर्ण स्थानमा छ’, मन्त्री चौधरीले भनिन्,‘तर अझै पनि कच्चापदार्थको रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ।’

मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको बताइन्।

देशमा उपलब्ध जडीबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधी विकासलाई उन्नत चरणसम्म पुर्‍याउनुपर्ने बताइन्।

बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक संकेत, दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्नेमा बताइन्।

परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको मन्त्री चौधरीको भनाइ थियो।

प्रकाशित: २९ चैत २०८२ १३:४१ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast