एक महिनामै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय कति उचित?

रमेश दवाडी २५ चैत २०८२ २१:३३ | Wednesday, April 8, 2026
74
SHARES
एक महिनामै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय कति उचित?

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारको निर्णयले शिक्षा क्षेत्रमा नयाँ बहस सुरु भएको छ।

विगतका वर्षहरूमा तीन महिनासम्म लाग्ने नतिजा यसपटक छोटो समयमा निकाल्न सरकारको निर्देशन छ। कतिपयले यसलाई सुधारको संकेत त कसैले व्यवहारिक चुनौती भनेका छन्।

सरकारको निर्देशन बमाेजिम राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गर्न तयारी गरिरहेको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रक्रिया निर्धारित ढाँचाअनुसार अगाडि बढिरहेको छ। उनले हिमालप्रेससँग भने,‘सबै केन्द्रबाट विवरण आउने क्रम जारी छ, तोकिएको समयभित्रै परीक्षाफल सार्वजनिक हुन्छ।’

गत वर्षहरूमा तीन महिनामा परीक्षाफल प्रकाशित भए पनि अहिले एक महिनामै प्रकाशित गर्ने  सरकारको निर्णय उचित भएको उनी बताउँछन्। उनी भन्छन्, ‘गत वर्षहरूमा तीन महिनामा परीक्षाफल प्रकाशित भए पनि अहिले एक महिनामै प्रकाशित गर्ने तयारी भइरहँदा यो ठिक छ। गर्न चाहँदा सकिन्छ।’

यता शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँ का प्रमुख डा.सन्तमणि आचार्यले पनि सरकारी योजनालाई सफल बनाउन सबै तह सक्रिय रहेको बताएका छन्। उनले भने,‘सरकारले छिटो नतिजा निकाल्ने भनेपछि हामीले त्यसलाई कार्यान्वयन गर्नैपर्छ।’

उनका अनुसार यो अभ्यासले शिक्षा व्यवस्थापनमा नयाँ सन्देश दिन सक्छ। ‘छिटो गर्न चाहँदा सकिन्छ भन्ने सन्देश पनि हो, पहिलोपटक भएकाले केही समस्या आउलान्, तर त्यसलाई अवसरका रूपमा लिनुपर्छ,’ उनले हिमालप्रेससँग भने।

उनले शिक्षकको जिम्मेवारीबोधप्रति विश्वास व्यक्त गरे। उनले भने,‘इमान्दारिता र जवाफदेहितासाथ काम गरे कुनै समस्या हुँदैन।’

विद्यालय तहमा भने यो योजनालाई लिएर व्यावहारिक चिन्ता पनि देखिएको छ। बाँसबारी माध्यमिक विद्यालयकी केन्द्राध्यक्ष नारायणी तिमिल्सिनाले सरकारको योजनालाई स्वागतयोग्य भन्दै पनि केही चुनौती औंल्याइन्।

उनले भनिन्,‘काम गर्न सकिन्छ, योजना राम्रो छ तर विषय शिक्षक अभावजस्ता कारणले एक महिनामै नतिजा निकाल्दा समस्या आउला कि भन्ने डर पनि छ।’

उनले विद्यार्थीको हितका दृष्टिले छिटो नतिजा प्रकाशन सकारात्मक रहेको बताइन्। ‘तीन/तीन महिनासम्म नतिजा कुर्नुभन्दा छिटो सार्वजनिक गर्नु राम्रो पक्ष हो।’

एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारी तयारीप्रति नेपाल शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मिश्रित प्रतिक्रिया दिए। छिटो नतिजा निकाल्ने पहल सकारात्मक भए पनि त्यसका क्रममा परीक्षा प्रणालीको गोपनीयता र मर्यादा कमजोर हुनसक्ने अध्यक्ष सुवेदी चिन्ता व्यक्त गर्छन्।

प्रक्रियागत सुधार नगरी हतारमा काम गर्दा दीर्घकालीन असर पर्ने उनले बताए। उनले भने, ‘छिटो नतिजा निकाल्नु राम्रो हो। छिटो नतिजा निकाल्ने नाममा हामीले निश्चित मर्यादा बिर्सनु हुँदैन।’

अध्यक्ष सुवेदीले अहिलेको व्यवस्थामा उत्तरपुस्तिका परीक्षण गर्दा कसले कसको कपी जाँचेको भन्ने खुल्ने जोखिम रहेको औंल्याए। ‘कसको कपी कसले जाँच्यो भन्ने एक्सपोज हुने भयो, पहिले त्यस्तो हुँदैनथ्यो,’ उनले भने। यसले परीक्षाको निष्पक्षता र शिक्षकको सुरक्षासमेत प्रभावित हुन सक्ने उनको भनाइ छ।

उनले वैकल्पिक उपाय सुझाउँदै परीक्षण प्रक्रियालाई थप व्यवस्थित बनाउनुपर्ने धारणा राखे। ‘छिटो गर्दा केचाहिँ गरिदिएको भए हुन्थ्यो भने शिक्षा विकास तथा समन्वय एकाइमा ल्याएर कोडिङ गराएर, एकाइले जिल्लाभित्रै वितरण गरेर त्यही जाँच गरेर चाँडो नतिजा निकालिदिएको भए हुन्थ्यो,’ उनको सुझाव छ।

अध्यक्ष सुवेदीले नतिजाप्रति असन्तुष्टि हुँदा शिक्षकमाथि आक्रमणको जोखिमसमेत बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। ‘प्राप्ताङ्कसँग असन्तुष्ट भएर विद्यार्थीले शिक्षकमाथि आक्रमण गर्छन् कि भन्नेमा पनि शिक्षकहरू चिन्तित हुनुहुन्छ,’ उनले हिमालप्रेससँग भने।

यद्यपि उनले सबै प्रक्रिया व्यवस्थित रूपमा पूरा गरेमा छिटो नतिजा निकाल्न सकिने सम्भावना रहेको बताए। ‘सबै प्रक्रिया पूरा गरेर पनि एक महिनामा नतिजा निकाल्न सकिन्छ, सकिन्थ्यो।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारी एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक हुनुले विद्यार्थीलाई पनि बढी महत्त्वपूर्ण हुने बताउँछन्। प्याब्सनले सरकारको यो निर्णयलाई स्वागत गरेको उनको भनाइ छ।
हिमालप्रेससँग कुरा गर्दै उनले भने, ‘नयाँ सरकारले एक महिनाभित्र एसईईको नतिजा सार्वजनिक गर्छु भनेर सोही अनुसार तयारी गर्नु सकारात्मक हो। विद्यार्थीका लागि बढी महत्त्वपूर्ण पनि छ। सानो कामलाई तीन महिना लगाएर गर्नु भन्दा त एक महिनामा रिजल्ट दिनु धेरै राम्रो हो। सरकारको यो कामलाई प्याब्सनले स्वागत गरेको छ।’

महासंघका अध्यक्ष सुवेदीले शिक्षकको सुरक्षामाथि प्रश्न उठाइरहँदा प्याब्सन अध्यक्ष अधिकारी भने बदमासी नगर्ने शिक्षक डराउन नपर्ने बताउँछन्। ‘कपी करेक्सनमा कहिँकतै गलत भयो भने शिक्षक आफैँ कारबाहीको भागिदार हुनुपर्छ। जुन शिक्षकले बदमासी गर्नुहुन्छ उहाँप्रति प्रश्न आउने हो। २ नम्बर पाउनेलाई १० नम्बर दिइयो भने शिक्षकमाथि प्रश्न उठ्छ नि,’ अधिकारीले भने, ‘एकदम राम्रोसँग कपी करेक्सन गर्ने, भेदभाव नगर्ने, शिक्षक भनेको राम्रो पेसा हो। त्यसकारण गुरुहरूलाई कसरी अफठ्यरो हुनसक्छ र!’

शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेल एसईईको नजिता एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारको निर्णय व्यवहारिक रूपमै ठिक भएको बताउँछन्। ‘परीक्षाफल जति छिटो सार्वजनिक गर्न सकियो त्यति नै व्यवहारिक हुन्छ। मूल्यांकन जति छिटो गर्न सकियो त्यति राम्रो हुन्छ। फेल हुनेले पनि अर्को परीक्षा दिन पाउने भए। परीक्षा भएको महिनौं दिनसम्म पनि शिक्षकलाई कपी जाँच्न दिइएको हुदैनथ्यो,’ उनले बुधबार हिमालप्रेससँग भने।

एसईईको नतिजा छिट्टै प्रकाशन गरेर सरकारले कक्षा ११ सञ्चालनलाई पनि सहज बनाउने संकेत देखाएको प्रा.डा.लुइँटेलको तर्क छ। त्यसैगरी उनले शिक्षकलाई विश्वास गरेर कक्षा ८ र १० को परीक्षा विद्यालयलाई नै गर्न दिँदा हुने र १० को परीक्षा (एसईई) लाई तामझाम गर्न आवश्यक नरहेको पनि बताए।

‘एसईईको छिटो नतिजा प्रकाशनले कक्षा ११ सञ्चालन गर्न पनि सहज हुने भयो। कक्षा १० र ११ १२ को शैक्षिक सत्रलाई पनि एकरुपकता दिन सरकारले विस्तारै अभ्यास गरिरहेको होकी भन्ने पनि बुझिन्छ,’ उनले भने,‘अब कक्षा १० को परीक्षा तामझाम गर्न पनि पर्दैन। कक्षा ८ र १२ मा राष्ट्रिय स्तरको परीक्षा लिइसकेपछि किन कक्षा १० को तामझाम गर्नपर्यो? विद्यालयलाई जिम्मा दिने, शिक्षकलाई विश्वास गर्ने गर्नुपर्छ।’

प्रकाशित: २५ चैत २०८२ २१:३३ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast