हत्या गरिएकी सिर्जना र बोरामा राखेर खुँडा लिई हिँडेका शिशिर (दायाँ) ।
पोखरा- पोखराको सभागृहचोकमा एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्याकाण्डमा संलग्न आरोपीलाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको छ। सो घटनामा मृतकका भान्जा नाताका २७ वर्षीय सन्तोष भनिने शिशिर केसी र अर्का एक जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
२५ चैतमा साँझ करिब ७ बजे पोखरा-५, मालेपाटनकी ४२ वर्षीया सिर्जना केसी (पौडेल) को विभत्स हत्या भएको थियो। घटनाको दुई दिन नबित्दै प्रहरीले आरोपीलाई पक्राउ गर्न सफल भएको हो।
कास्की प्रहरीका अनुसार मुख्य आरोपी शिशिर पर्वत जिल्ला कुष्मा नगरपालिका वडा ११, शिल्मी घर भई हाल पोखरा-६ मा डेरा गरी बस्दै आएका थिए। यसै गरी मतियारको रूपमा पोखरा-१७, रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार पनि पक्राउ परेका छन्।
शुक्रबार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सो घटनामा पारिवारिक बेमेल तथा अंश सम्पत्ति मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए।
उनका अनुसार मुख्य आरोपी शिशिरलाई रुपन्देही प्रहरीको सहयोगमा शुक्रबार बुटवल-२, मनकामना टोलबाट पक्राउ गरी कास्की ल्याइएको हो। त्यहाँ उनी लुकीछिपी बसेका थिए। एसपी कार्कीका अनुसार मुख्य आरोपी शिशिर आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको खुलेको छ।
उनी अभद्र व्यवहार, चोरी तथा डाँका मुद्दामा पटकपटक पक्राउ परी सजाय भोगेको व्यक्ति हुन्। २०८० माघ २४ मा वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार मुद्दा चलेको थियो भने गत असार ५ मा वडा प्रहरी कार्यालय बैदामबाटै चोरी तथा डाँकासम्बन्धी कसूरमा पक्राउ परेका थिए। त्यसै गरी गत साउन २३ मा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा पक्राउ परेका थिए।
मतियारको रूपमा पोखरा-१७, रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार प्रयोग भएको खुलेको छ। उनलाई पनि प्रहरीले शुक्रबार नै पक्राउ गर्न सफल भएको हो। उनको समेत पृष्ठभूमि आपराधिक प्रकृतिको छ। उनी २०७५ असोज ११ मा र २०७६ वैशाख १७ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा लागुऔषध कसूर मुद्दामा पक्राउ परी सजाय भोगिसकेका व्यक्ति हुन्।
प्रहरीले घटनामा प्रयोग गरिएको ग २५ प ३०४४ नम्बरको स्कुटर तथा घटनामा प्रयोग गरिएको धारिलो हतियार खुँडासमेत बरामद गरेको छ। स्कुटर पोखराको मुस्ताङचोकबाट र खुँडा पोखरा-१६, बिरौटास्थित तितेपानी जंगलबाट फालिएको अवस्थामा बरामद गरेको हो।
उक्त दिन साँझ स्कुटर चढी आएका उनीहरुले पसल बन्द गरी घरतर्फ जान हिँडेकी सिर्जनामाथि एक्कासि खुँडा हानेर हत्या गरेको अनुसन्धानमा खुलेको छ। बोराभित्र लुकाइएको धारिलो खुँडा प्रहार भने भान्जा भनिने शिशिरले सिर्जनाको टाउकोमा प्रहार गरी परियारले चलाएको स्कुटरको पछाडि बसेर भागेका थिए। शिशिरले ‘एउटा काम छ, पैसा दिन्छु’ भनी परियारलाई फकाएर ल्याएको खुलेको छ।
पतिको निधनपछि एकल जीवन बाँँच्दै आएकी सिर्जनाले पोखराको हङकङ बजारमा जुत्ता पसल सञ्चालन गर्दैआएकी थिइन्। उनकी ४ वर्षीया छोरी छन्।
पोखरा-५, मालेपाटनस्थित जिरो किमीमा मासुको व्यवसाय गर्दै आएका खसी कृष्णे भनेर चिनिने कृष्ण केसीले जेठी श्रीमतीको विष सेवन गरेर मृत्युपछि सिर्जनासँग ४ वर्षअघि दोस्रो विवाह गरेका थिए। तर खसी कृष्णको दुई वर्षअघि मृत्यु भएको थियो। खसी कृष्णेको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन्। छोरा भने लागुऔषध मुद्दामा कास्की कारागारमा सजाय भोगिरहेको खुलेको छ।
प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार प्रहरीले प्रतिवादीहरूलाई कर्तव्य ज्यान कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यसैगरी, घटनामा सम्बन्धित अन्य मतियार, योजनाकार, सहयोगी भए–नभएकोबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
आरोपीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्दा चल्नेछ। मतियारलाई भने मुख्य आरोपीलाई हुने सजायको आधा सजाय हुने कानुनी व्यवस्था छ।
प्रहरीले बरामद गरेका सामान विधि विज्ञान प्रयोगशालामा पठाउन पोको पोरेर तयारी अवस्थामा राखेको छ। ती सामानहरू पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो।
पोखराको मुख्य बजार क्षेत्रमध्ये एक सभागृहचोकमा भएको उक्त हत्याकाण्डको सर्वत्र निन्दा गरिएको छ। सर्वसाधारणमा पनि उक्त घटनाले त्रसित बनाएको छ।
प्रहरीले पत्रकार सम्मेलन गर्दा उपस्थित मृतक सिर्जनाका आफन्तले मुख्य आरोपी शिशिरलाई देख्ने बित्तिकै आक्रोशित हुँदै जाइलाग्न खोजेका थिए। तर प्रहरीले तत्काल छेकेको थियो।





