काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ।
श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्य पद ब्युँताउने प्रयास गर्दा विभागीय मन्त्रीले ध्यान नपु¥याएको भन्दै रास्वपाले स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराएको हो।
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई लेखेको सिफारिस पत्रमा ‘…यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु’ भनिएको छ।
लगातार तीनवटा बैठकमा अनुपस्थित भएपछि साहकी श्रीमती जुनु श्रेष्ठलाई बोर्डले ११ महिनाअघि निलम्बन गरेको थियो। तर, चैत २३ मा बोर्डले बोलाएको बैठकमा उनी एकाएक सहभागी भइन्। श्रेष्ठ पति श्रममन्त्री साहको बलमा पदमा फेरि आउन खोजेकी थिइन्। यो विषयमा उनले स्वास्थ्यमन्त्री मेहतासँग समेत छलफल गरेकी थिइन्। स्वास्थ्यमन्त्री मेहताकै स्वीकृतिमा उनी बोर्ड बैठकमा सहभागी भएको बताइएको छ।
यही विषयलाई लिएर पार्टीको सिफारिसमा प्रधामन्त्री शाहले श्रम मन्त्री साहलाई बिहीबार पदमुक्त गरेका छन्।
‘श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय दीपकुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारबाहीका लागि २०८२ चैत २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु। यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्याृदामाथि आँच आउने देखिएको छ,’ सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई पठाएको पत्रमा भनिएको छ।
पार्टी विधानमा जिम्मेवारीबाट फिर्ता बोलाउनसक्ने व्यवस्था भएकाले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सभापति लामिछानेले सिफारिस गरेका छन्।




