काठमाडौँ- अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकाे नवाैं संस्करण सुरु भएकाे छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजदेखि मेला सुरु गरिएकाे हाे।
मेला नेपाली महिलाहरूले उत्पादन गरेको हस्तकलाका सामग्रीहरूले सजिएको छ, जसमा ढाकाका विभिन्न सामान, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, रैथाने खानेकुराका परिकार, जडीबुटी, मुर्ति, कृषिजन्य उत्पादन, गरगहना, लत्ताकपडा, सजावटका सामान तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री आर्कषक ढंगले राखिएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज मेलाको उद्घाटन गरेका हुन्। महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठको अध्यक्षतामा आयाेजित कार्यक्रममा उपराष्ट्रपति यादव प्रमुख अतिथि थिए।

मेलाले महिला उद्यमशीलता विकासको माध्यमबाट रोजगारीको सिर्जना गर्न र व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रिय अर्थतन्त्रको सुधार गर्न सहयोग पुग्ने उनले बताए। यसमा सम्बन्धित सबै सरोकारवालाहरूले ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो।
महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै उनीहरूको ज्ञान, अनुभव, प्रविधि तथा सीपको आदान/प्रदानलाई प्रोत्साहन गर्न मेला आयोजना गरेको संघकी अध्यक्ष दर्शना श्रेष्ठले बताइन्।
‘मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीहरू सहभागी छन्। हाम्रो उद्देश्य उहाँहरूको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने रहेको छ,’ उनले भनिन्।
मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङमा व्यापारिक सहकार्यको अवसर प्रदान गर्ने उनको भनाइ थियो।

उनकाअनुसार मेलामा १ सय ४० वटा स्टल छन्। जसमा विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीहरू छन्।
प्रदर्शनीका साथै मेलामा कार्यशाला गोष्ठी, महिला उद्यमीका व्यवसायमा नविनता डिजिटल बजारीकरण साक्षरता,B2B, B2C, कार्यक्रम पनि सञ्चालन हुनेछ। तीनदिनसम्म चल्ने मेला आइतबार सकिनेछ।
महिला उद्यमी महासंघ नेपालले २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको छ। महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण र प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।








