काठमाडौँ– मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपी ग्यासको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ।
भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटीएफ) को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख सहरहरूमा पनि यस्तै वृद्धि गरिएको छ। एटीएफ हवाई सेवा सञ्चालनको प्रमुख लागत भएकाले यसको मूल्यवृद्धिले हवाई भाडामा समेत प्रभाव पार्न सक्ने बताइएको छ।
मन्त्रालयले मध्यपूर्व युद्धका कारण विश्व ऊर्जा बजारमा असाधारण अवस्था सिर्जना भएको र विशेषगरी स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल तथा ग्यास आपूर्ति प्रभावित भएको उल्लेख गरेको छ।
यस्तो परिस्थितिमा एटीएफको मूल्य १०० प्रतिशतभन्दा बढीले बढ्ने अनुमान गरिएको थियो। तर सरकारले आन्तरिक हवाई यात्रामा प्रत्यक्ष असर कम गर्न ‘आंशिक र सीमित’ रूपमा करिब २५ प्रतिशतमात्र मूल्य समायोजन गरिएको जनाएको छ।
यसैबीच अन्तर्राष्ट्रिय उडानतर्फ भने पूर्ण मूल्यवृद्धिको प्रभाव लागू हुने बताइएको छ, जसअनुसार विदेशी गन्तव्यमा उडान गर्ने विमानहरूले बढेको इन्धन लागत पूरै वहन गर्नुपर्नेछ।
व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को मूल्य पनि बढाइएको छ। दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा १९ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य करिब २०० भारतीय रुपैयाँले वृद्धि गरिएको छ।
भारत विश्वको चौथो ठूलो एलएनजी आयातकर्ता र दोस्रो ठूलो एलपीजी खरिदकर्ता हो, जसले मुख्य रूपमा मध्यपूर्वबाट आपूर्ति लिन्छ। यसैले त्यहाँको द्वन्द्वले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।
तर यसपटकको मूल्य समायोजनमा घरेलु प्रयोजनका एलपीजीको मूल्य भने यथावत राखिएको छ, जसले सामान्य उपभोक्तालाई तत्काल थप भार नपर्ने संकेत दिएको छ।




