भलिबल टिममा एकै घरका चार जना

हिमाल प्रेस २२ चैत २०८२ ८:४८ | Sunday, April 5, 2026
8
SHARES
भलिबल टिममा एकै घरका चार जना

म्याग्दी- धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन्। छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुन्।

दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन्। ‘बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आएका छन्,’ नरेशले भने, ‘हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेको र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ।’ कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आएका छन्। नवीन र केशव भने फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन्।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उनका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्छन्। घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका–७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ। नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन÷तीनवटा स्वर्ण पदक दिलाउँदै जनता माविलाई विजयी बनाउन योगदान पुराएका थिए। नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्।

नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिएका छन्। केशवले गत माघमा जिल्ला भलिबल संघले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जितेका थिए। मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्किएका हुन्। कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आउएका छन्।

आठवटा घोडा पालेका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्छन्। फुर्सदको समय र मेलाजात्रामा उनको टोली भलिबल प्रतिस्पर्धा गर्नसमेत जान्छन्। खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन्। मुना घर भई हाल अस्ट्रेलियामा रहेका इम रोकाले शनिबार २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराएका थिए। अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गरेका छन्।

‘सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ’, सबहादुरले भने, ‘शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु।’ रासस

प्रकाशित: २२ चैत २०८२ ८:४८ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast