परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल हिन्द महासागर सम्मेलनमा सहभागी हुन मरिसस जाने भएका छन्। भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल बिहीबार (आज) मरिसस जान लागेका हुन्।
मरिससको राजधानी लुइसमा शुक्रबारदेखि नवौँ हिन्द महासागर सम्मेलन (आईओसी) आयोजना हुँदैछ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षकमा यही चैत २७ र २८ गते हुने सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो।
सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्। उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड-महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। उनको चैत ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।




