काठमाडौँ- वर्ष २०८२ मा नेपालमा नेपालीभन्दा विदेशी फिल्म धेरै वटा प्रदर्शन भएका छन्। ५६ नेपाली फिल्म प्रदर्शन हुँदा विदेशी फिल्म ९३ वटा प्रदर्शन भएका हुन्। नेपालीमा सर्वाधिक कमाउने ‘परान’ हो भने विदेशीमा ‘कान्तरा : अ लेजेन्ड च्याप्टर १’ रहेको छ। धेरै आम्दानी गर्ने पाँचमध्ये चारवट बलिउडका फिल्म हुन्।
चलचित्र विकास बोर्डका अनुसार ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४ सय १० रुपैयाँ आम्दानी गरेको छ। यसैगरी ‘कान्तारा : अ लेजेन्ड च्याप्टर १’ ले १२ करोड ३५ लाख ३२ हजार ८ सय ४० रुपैयाँ कलेक्सन गरेको छ। ‘तेरे इस्क में’, ‘सितारे जमिन पर’, ‘बोर्डर २’, ‘हाउसफुल ५’, ‘वार २’, जस्ता विदेशी फिल्म चर्चामा रहे तर सर्वाधिक कमाउने पाँचमा पर्न सकेनन्।
बोर्डको विवरणअनुसार नेपालमा प्रदर्शन भएका सर्वाधिक कमाउने पाँच विदेशी फिल्म यसप्रकार छन् :
कान्तारा : अ लेजेन्ड च्याप्टर १ : यस वर्ष नेपालमा सर्वाधिक कमाउने पहिलो फिल्म हो, ‘कान्ताराः अ लेजेन्ड च्याप्टर वान’। फिल्मले नेपालमा १२ करोड ३५ लाख ३२ हजार ८ सय ४० रुपैयाँ कमाएको छ।
फिल्मका लेखक तथा निर्देशक ऋषभ सेट्टी हुन्। उनकै मुख्य भूमिका रहेको फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ। यो फिल्म सन् २०२२ मा प्रदर्शन भएको ‘कान्तारा’ प्रिक्वेल हो। फिल्ममा निर्देशक सेट्टीसहित सप्तमी गौडा, श्रीराम रेड्डी, पोलासने, रुक्मिणी वसन्त, जयराम, गुलसन देवैयालगायत कलाकारले अभिनय गरेका छन्।
धुरन्धर : द रिभेन्ज : हलमा चलिरहेको फिल्म ‘धुरन्धर : द रिभेन्ज’ सर्वाधिक कमाउनेको दोस्रोमा परेको छ। फिल्मले अहिलेसम्म नेपालमा १२ करोड २५ लाख ६ हजार ७ सय ६१ रुपैयाँ कमाइसकेको छ। नेपालमा उच्च सोहित अहिले पनि प्रदर्शन भइरहेको छ। यसको व्यापार अझ बढ्ने देखिन्छ।
फिल्मका निर्देशक आदित्य धर हुन्। फिल्ममा फिल्ममा अघिल्लो भागलाई निरन्तरता दिँदै एक भारतीयको पाकिस्तानी ग्याङस्टासँगको बदलाको कथा देखाइएको छ। भारतीय गुप्तचरका रूपमा पाकिस्तान पुगेका एक पात्रको संघर्ष, उसले भोग्ने चुनौतीलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ।
रणवीर सिंह मुख्य भूमिकामा रहेको फिल्ममा आर माधवन, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुनलगायतले अभिनय गरेका छन्।
सैयारा : नेपालमा सर्वाधिक कमाउने तेस्रो विदेशी फिल्म बनेको छ ‘सैयारा’। फिल्मले १० करोड १४ लाख ५ हजार ५ सय ४ रुपैयाँ कमाएको छ। ड्रामा र रोमान्टिक जनरामा बनेको फिल्म प्रेम कथामा आधारित छ। फिल्मले विश्वभर चर्चा कमायो। कोहित पुरीले निर्देशन गरेको फिल्ममा आहान पाण्डे, अनिता पड्डा मुख्य भूमिकामा छन्।
धुरन्धर : फिल्म ‘धुरन्धर’ नेपालमा सर्वाधिक कमाउनेको चौथो नम्बरमा छ। फिल्मले १० करोड ५० लाख ७७ हजार ८ सय २१ रुपैयाँ कलेक्सन गरेको छ। फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा छन् अभिनेता रणवीर सिंह।
रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्। यसको दोस्रो भाग ‘धुरन्धर स् द रेभेन्ज’ अहिले हलमा उच्च सोसहित चलिरहेको छ।
अवतार : फायर एन्ड यस : पाँचौँ नम्बरमा हलिउड ‘अवतार : फायर एन्ड एस’ रहेको छ। फिल्मले नेपालमा ६ करोड ६८ लाख ४३ हजार ४ सय ८९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृंखला हो। एक्सन र एडभेन्जर जनरामा बनेको फिल्म फिल्ममा केट विन्सलेट, सिगोर्नी विभर, जो साल्डानालगायत कलाकारको अभिनय छ।





