काठमाडौँ- वैदेशिक रोजगार विभागका सुब्बा घुससहित रङ्गेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगीलाई घुससहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले नायब सुब्बा मस्राङगीलाई १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी दिए। उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँसमेत बरामद भएको न्यौपानेले बताएका छन्।
प्रवक्ता न्यौपानेका अनुसार कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएका नायब सुब्बा मस्राङीको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ।
वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस माग गरी हैरानी दिएको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
मस्राङीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।




