काठमाडौँ– संसद्को अधिवेशन आह्वान भएर नवगठित प्रतिनिधिसभाको बैठक बसिरहे पनि दोस्रो ठूलो दल नेपाली कांग्रेसले अझै संसदीय दलका नेता चयन गर्न सकेको छैन।
फागुन २१ को चुनावअघिदेखि नियमित र विशेष महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले दलको नेता चयन गर्ने प्रक्रियासमेत थाल्न नसकेको हो। १९ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले रोस्ट्रमबाट धारणा राखेका थिए। सभालाई सम्बोधन गर्न दलका तर्फबाट उनको नाम सिफारिस भएको थिएन, पार्टीले समन्वय मात्रै गरेको थियो।
‘संसदीय दलको नेता चयन भएको छैन, म आफैँले पार्टीसँग समन्वय गरेर प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेको हुँ’ आङ्देम्बेले हिमालप्रेससँग भने। संघीय संसद्को अधिवेशन आह्वान हुनुअगावै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले संसदीय दलको नेताका साथै सचेतकहरू छानिसकेका छन्।
२२ चैतमा प्रतिनिधिसभाले सभामुख पाइसकेपछि दलको नेता चयनका लागि प्रक्रिया अगाडि बढाउने कांग्रेसको तयारी थियो। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको हैसियतमा सांसद अर्जुननरसिंह केसी सभामुखको भूमिकामा थिए। केसी पनि संसदीय दलको नेताका दाबेदार रहेकाले सभामुखको जिम्मेवारीबाट हटिसकेपछि प्रक्रिया अगाडि बढाउने तयारी कांग्रेसको थियो।
आइतबार (चैत २२) गते प्रतिनिधिसभाले सभामुख पाइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख नियुक्त भएका छन्।
सोमबार संसद्को तेस्रो बैठक बस्दासम्म कांग्रेसमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढेको छैन। दलको नेता कहिले चयन हुनेमा कांग्रेस सांसदहरू अन्योलमा छन्।
संसदीय दलको नेताका लागि ‘लबिङ’ गरिरहेका सांसद आङ्देम्बे दलको नेता कहिले छानिने आफूलाई जानकारी नभएको बताउँछन्। उनले भने, ‘कहिले प्रक्रिया अगाडि बढ्छ थाहा भएन, पदाधिकारी बैठक बस्ने भनेर सुनेको छु। बैठकपछि केही आउला कि?’
कांग्रेसका अन्य सांसदहरू पनि दलको नेता चयन गर्ने विषयमा औचपरिक रूपमा छलफल अगाडि नबढेको बताउँछन्। अनौपचारिक ढंगबाट छलफल भइरहे पनि औपचारिक रूपमा केही नभएको एक सांसदले जानकारी दिए।
‘सिंहदरबार गएको बेला संसदीय दलको कार्यालयमा बसेर अनौपचारिक छलफल हुन्छ, औपचारिक रूपमा केही भएको छैन,’ ती सांसदले भने, ‘हिजो (आइतबार) पनि हामी बसेका थियौँ, तर औपचारिक ढंगबाट कुनै कुरा भएन।’
किन भइरहेको छ ढिलाइ?
२१ फागुनमा सम्पन्न निर्वाचनमा फितलो प्रदर्शन गरेको कांग्रेस प्रतिनिधिसभामा दोस्रो स्थानमा सीमित भयो। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा आफैँ सर्लाहीबाट चुनाव हारे। डा. शेखर कोइराला, विमलेन्द्र निधिजस्ता शीर्ष नेताहरूले पनि पराजय भोग्नुप¥यो।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएर आएका कांग्रेसका अधिकांश नयाँ अनुहार छन् भने समानुपातिक प्रणालीबाट निर्वाचित हुनेमा पुराना नेताहरू छन्। संसदीय दलको नेता नयाँ अनुहार छान्ने कि पुराना भन्ने सकस कांग्रेसमा देखिएको छ।
अर्कोतर्फ सभापति थापा आफूनिकटलाई दलको नेता बनाउन चाहेका पनि गणितीय संख्याको हिसाबले उनी कमजोर देखिएका छन्। चुनावपछि विकसित कांग्रेसको आन्तरिक राजनीतिमा देउवा र डा. शेखर कोइराला एकै कित्तामा उभिएको देखिन्छ।
केही दिनअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदहरूलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा कोइराला आफैँ पुगेका थिए। देउवा-कोइराला समूह नजिकिएपछि प्रतिनिधिसभामा सभापति थापा समूह संख्यात्मक हिसाबले कमजोर देखिएको छ।
अहिलेको अवस्थामा प्रतिनिधिसभामा देउवा समूहका १५, शेखर समूहका सात र सभापति थापा समूहका १६ सांसद छन्। देउवा र शेखर समूहका सांसदहरू एकै ठाउँमा उभिए २३ पुग्ने र आफूअनुकूलका व्यक्ति दलको नेतामा चयन नहुने डरमा संस्थापन देखिएको छ।
संख्यात्मक हिसाबले अनुकूल संख्या पुगेको ढुक्क भएपछि मात्रै दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाउने सोचमा सभापति थापा समूह रहेको नेताहरूको भनाइ छ।
संसदहरूलाई चेतावनी!
दलमा आफूअनुकूलको संख्या पु¥याउनकै लागि संस्थापनले समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई ‘कारबाहीको चेतावनी’ पनि दिन थालेका छन्। नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिन केही दिनअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शीर्ष नेताहरूले समानुपातिक सांसदहरूलाई ‘फिर्ता बोलाउने’ प्रक्रियाबारे स्मरण गराएका थिए।
‘विधानअनुसार हिँड्नुहोला, पार्टी विधानविपरीत हिँड्नेलाई फिर्ता बोलाउन सकिन्छ,’ अभिमुखीकरण कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले भनेका थिए।
शीर्ष नेताका तर्फबाट आएका चेतावनीपूर्ण अभिव्यक्तिका कारण कतिपय समानुपातिक सांसदहरू देउवा वा कोइरालाको पक्षमा खुल्न चाहेका छैनन्। त्यसैले सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रमपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आयोजना गरेको कार्यक्रममा जम्मा ११ जना सांसदमात्रै उपस्थित भए। शेखर समूहका दुई जना सांसद त कार्यक्रममा पुगेर तत्कालै हिँडेका थिए।
‘सानेपामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममै समानुपातिक सांसदहरूलाई एकखाले चेतावनी दिइएको थियो,’ देउवा समूहका एक सांसदले भने, ‘समानुपातिक सांसदलाई फिर्ता बोलाउने अधिकार पार्टीसँग हुन्छ भनेर भनियो। यो डरका कारण पनि धेरै साथीहरू खुल्न चाहनुभएको छैन।’
२१ फागुनमा सम्पन्न निर्वाचनमा टिकट वितरण गर्दा कांग्रेसका दुई सभापतिको हस्ताक्षर चलेको थियो। निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पठाउँदा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फ विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापाले। दुई नेताको हस्ताक्षरबाट निर्वाचित सांसदहरू प्रतिनिधिसभामा रहेकाले कांग्रेसको संसदीय दलको नेता चयन गर्न गणितीय समीकरण रोचक हुने देखिएको छ।
को-को छन् आकांक्षी?
संसदीय दलको नेताका लागि संस्थापनका साथै देउवानिकट सांसदहरूले दाबी गरिरहेका छन्। दलको नेताका लागि भीष्म आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, निस्कल राईलगायतका नेताहरू आकांक्षी देखिएका छन्।
बदलिएको राजनीतिक परिवेशमा युवालाई दलको नेताको जिम्मेवारी दिनुपर्ने मत कांग्रेसभित्र देखिएको छ। युवालाई दलको नेता चयन गर्नुपर्ने पक्षमा रहेकाहरू निस्कलको नाम अगाडि सारिरहेका छन्।
कांग्रेसका तर्फबाट सबैभन्दा बढी अनुभवी सांसद आफू रहेको भन्दै केसीले दलको नेताका लागि दाबी गरेका छन्। उनले संसदीय दलको नेतामा आफ्नो दाबी रहने उनले सार्वजनिक रूपमै भनिसकेका छन्। आङ्देम्बे र आचार्यले पनि संसदीय दलका नेताका लागि ‘लबिङ’ तीव्र बनाएका छन्।
कांग्रेस स्रोतका अनुसार सभापति थापा भने केसीलाई संसदीय दलको नेता बनाउन चाहेका छैनन्। आलोचना हुने डरले सभापति थापा सुसुरा केसीलाई दलको नेता बनाउन नचाहेको बताइएको छ। केसी नभएपछि आङ्देम्बे पनि दलको नेता बन्न नहुने अडानमा थापा रहेको कांग्रेसका एक नेताले बताए।
आङ्देम्बे भने कुनै पनि हालतमा पछि नहट्ने अडानमा रहेको बताइएको छ। ‘केसी दलको नेता बने आलोचनामा हुने डर सभापतिजीलाई छ। उहाँ नभएपछि आङ्देम्बे पनि हुनु हुँदैन भन्ने सभापतिजीको छ,’ कांग्रेसका ती नेताले भने। उनका अनुसार अन्त्यमा आङ्देम्बे र आचार्यबीच प्रतिस्पर्धा हुने बढी सम्भावना छ। नेताहरूले सहमतिका लागि प्रयास भइरहेको बताए पनि विधिबाट पछि हट्न नसकिने जिकिर गरेका छन्।
महामन्त्री गुरुराज घिमिरेले सकभर सहमतिका लागि प्रयास गर्ने र सहमति नभए विधिअनुसार अगाडि बढ्ने बताए। ‘आकांक्षी धेरै देखिनुभएको छ, सहमतिमै दलको नेता छानियोस् भन्ने हाम्रो भनाइ हो,’ घिमिरेले भने, ‘सहमति नभए विधिअनुसार प्रक्रिया अगाडि बढ्छ।’
महामन्त्री घिमिरका अनुसार विधि भनेको निर्वाचन प्रक्रिया हो। कांग्रेस संसदीय दलको विधानको दफा ५ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था छ। यो दफाको उपदफा (१) र (२) अनुसार कांग्रेस संसदीय दलको नेता चयन हुने गरेको छ।
उपदफा १ मा, ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ उल्लेख छ। ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानबाट निर्वाचित हुने’ व्यवस्था उपदफा २ मा छ।
२०६४ को निर्वाचनपछि सर्वसम्मत ढंगबाट कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। चुनावअघि सुरु भएको विशेष र नियमित महाधिवेशनको टुस कांग्रेसमा अझै सकिएको छैन। सभापति थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनावमा भाग लिएका नेताहरू पनि यतिबेला आफ्नै समूहको संरक्षणमा जुटेका छन्। गुटबन्दी उत्कर्षमा रहेका कारण यसपालि पनि कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान प्रक्रिया अपाउने सम्भावना बढी देखिन्छ।
महामन्त्री घिमिरेले संसदीय दलको नेता चयन गर्न चाँडै प्रक्रिया अगाडि बढ्ने बताए। उनले सम्भवतः मंगलबार बैठक बसेर प्रक्रिया सुरु हुने जानकारी दिए। ‘भोलि कार्यसम्पदान समितिको बैठक बस्ने तयारी छ। बैठकबाट निर्वाचन समिति बन्छ, निर्वाचन समितिले प्रक्रिया अगाडि बढ्छ,’ घिमिरेले भने, ‘भोलिबाट प्रक्रिया सुरु हुन्छ।’
को कता?
संस्थापन (थापा) समूह : फागुन २१ मा सम्पन्न निर्वाचनका आधारमा प्रत्यक्षतर्फ विजयी १२ र समानुपातिकतर्फ चार गरी संस्थापन (थापा समूह) का १६ सांसद छन्।
प्रत्यक्षतर्फ निर्वाचित प्रकाशसिंह कार्की (सोलुखुम्बु), नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), निस्कल राई (इलाम-१), मो.फिरदोश आलम (रौतहट-२) र अभिषेकप्रताप शाह (कपिलवस्तु-३) संस्थापननिकट सांसद हुन्।
त्यस्तै प्रत्यक्षबाट निर्वाचित मोहन आचार्य (रसुवा), खड्ग शाही (मुगु), बासना थापा (दैलेख-१), भरतकुमार स्वार (अछाम-१), भरतबहादुर खड्का (डोटी) र जनकराज गिरी (बाजुरा) पनि संस्थापन पक्षका मानिन्छन्।
समानुपातिक प्रणालीबाट निर्वाचित अजुर्ननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक पनि संस्थापननिकट सांसदहरू हुन्।
देउवा समूह : प्रत्यक्षतर्फ देउवा समूहबाट पाँचजनाले चुनाव जितेका छन्। यो समूहबाट प्रत्यक्षतर्फ टेकबहादुर गुरुङ (मनाङ), सन्दीप राना (पाल्पा-१), जयपति रोकाया (पाल्पा), खड्कबहादुर बुढा (जाजरकोट-१) र विष्णुबहादुर खड्का (सुर्खेत-१) सांसदहरू छन्।
समानुपातिकतर्फ देउवा समूहबाट १० जना सांसद छन्। यो समूहबाट भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, साहजान खातुन, मदनकुष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया (उर्मिला) र हरिनादेवी कामी सांसद छन्।
शेखर समूह :
शेखर समूहबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ ६ गरी सात सांसद छन्। यो समूहबाट प्रत्यक्षतर्फ योगेश गौचन थकाली (मुस्ताङ) निर्वाचित भएका छन्।
त्यस्तै गीताकुमारी सेन्दाङ, रक्मिणीदेवी कोइराला, रीना केसी (उप्रेती), डा.प्रमिलाकुमारी गच्छदार, डा.चन्द्रमोहन यादव र रेखाकमारी यादव समानुपातिकतर्फ निर्वाचित भएका छन्।





